अभिनेता आकाश श्रेष्ठ फिल्म 'आबाट आमा २' मा अनुबन्ध भएका छन्। निर्माण टिमले उनलाई सोमबार फिल्मका लागि अनुबन्ध गरेको हो।
निर्देशक चन्द पन्तले फिल्मको कथाअनुसार नै आकाशलाई महत्वपूर्ण भूमिकाका लागि चयन गरिएको बताए। फिल्ममा यसअघि नै मुख्य कलाकारका रूपमा अभिनेता पल शाह र अभिनेत्री विपना थापा अनुबन्ध भइसकेका छन्।
चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म 'आबाट आमा' ले बक्स अफिसमा १३ करोड १० लाख रूपैयाँभन्दा माथिको व्यापार गरेको छ। यसको सफलतासँगै दोस्रो श्रृंखला 'आबाट आमा २' निर्माण हुन लागेको हो।
आर्या इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा विपना थापा, पल शाह र आकाश श्रेष्ठको मुख्य भूमिका रहनेछ। अन्य कलाकारबारे भने निर्माणपक्षले खुलाएको छैन।
बैशाखबाट छायांकनमा निस्किने तयारीमा रहेको फिल्मको कथा निर्देशक पन्त स्वयंले नै लेखेका हुन्।
'आबाट आमा' को पहिलो भागमा विपना थापा र पल शाहले आमा-छोराको भूमिकामा अभिनय गरेका थिए। बुवाको भूमिकामा भारतीय अभिनेता प्रदीप रावतको अभिनय छ। दोस्रो भागमा प्रदीप रहने वा नरहनेबारे निर्माणपक्षले खुलाएको छैन।
'आबाट आमा २' आगामी दसैंको अवसरमा प्रदर्शनमा ल्याइने निर्माणपक्षले यसअघि नै घोषणा गरिसकेको छ। यसको वितरण आरआर फिल्मस्ले गर्नेछ।