अभिनेता अनमोल केसी र अभिनेत्री प्रिन्सी खतिवडा अभिनीत फिल्म 'बाटुलो जून' आगामी दसैंमा प्रदर्शनमा आउने भएको छ।
सोमबार अनमोलको जन्मदिनको अवसर पारेर एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो। फिल्म आगामी वर्ष २०८३ को दसैं फूलपातीको छेको पारेर असोज ३० गते रिलिज हुनेछ।
सार्वजनिक पोस्टरमा अनमोल र प्रिन्सीलाई प्रस्तुत गरिएको छ। पूर्णिमाको टहलाउँदो जूनलाई पृष्ठभूमिमा राखिएको पोस्टरमा अनमोलले एक हातमा प्रकाशको प्रतिविम्व राँको लिएका छन् भने अर्को हातले प्रिन्सीको पाउजुसहितको खुट्टा समाएका छन्। पोस्टरमा अनमोल र प्रिन्सीलाई रोमान्टिक तर रहस्यमय अवतारमा प्रस्तुत गरिएको छ।
जन्मदिनमा पोस्टर सार्वजनिक गर्दै अनमोलले माया गर्नेहरूको लागि उपहार भन्दै 'दशैंमा भेटौंला' भन्ने उल्लेख गरेका छन्।
भुवन केसीको निर्देशनमा बनेको यो फिल्मको निर्माता जिया केसी र भविष्य खड्का हुन्।
सनराइज प्रिक्चर्स प्रा.लिको प्रस्तुतिमा फिल्म बनेको हो। फिल्ममा अनमोल र प्रिन्सीका साथमा भुवन केसी, नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटाको अभिनय छ।
तेजबिक्रम केसी कार्यकारी निर्माता रहेको फिल्ममा सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको लेखन छ। फिल्मको छायांकन राजेश श्रेष्ठले गरेका हुन्।
'बाटुलो जून' फरक कथा र प्रस्तुतिसहित दर्शकमाझ आउने अपेक्षा गरिएको छ।