कैलालीको टीकापुरमा त्रिदिवसीय 'टीकापुर साहित्य महोत्सव' सम्पन्न भएको छ। 'साहित्यमार्फत् सामाजिक सद्भाव' भन्ने नारासहित शुक्रबार सुरू भएको महोत्सव विभिन्न कार्यक्रमका साथ आइतबार समापन भएको हो।
टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा भएको महोत्सव यसपटक ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’ का रूपमा केन्द्रित रह्यो।
महोत्सवमा भाषा, साहित्य, कला, संगीत र समसामयिक मुद्दामा आधारित २१ वटा सत्र सञ्चालन गरिएको महोत्सवका संस्थापक संयोजक महेश विक्रम शाहले जानकारी दिए।
महोत्सवको मुख्य आकर्षणका रूपमा कर्णालीमा जलविहार, थारू सांस्कृतिक नाच, सडक नाटक, लेखन कार्यशाला र सुदूरपश्चिमको मौलिक देउडा खेललाई समावेश गरिएको थियो।
अन्तिम दिन लोपोन्मुख अवस्थामा रहेको थारू समुदायको रामलीला नाच प्रदर्शन गर्दै महोत्सवको समापन गरियो। संस्थापक संयोजक शाहका अनुसार महोत्सवको मुख्य उद्देश्य थारू समुदायको मौलिकता, परम्परा र जीवनशैलीलाई राष्ट्रिय विमर्शको केन्द्रमा ल्याउनु हो।
उनले थारू भाषा, थारू लोक साहित्य तथा संस्कृति नेपालको विशिष्ट मौलिक सांस्कृतिक परम्परा र पहिचान भएकोले महोत्सवले यसको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे।
महोत्सवमा थारू लोकसाहित्य तथा लोक संस्कृतिमाथि चर्चा तथा बहस गरिएको थियो। साथै नेपाली भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, समाज, राजनीति, विकास, स्थानीय सरोकारका विषयमाथि पनि सम्बन्धित विज्ञ, अध्येता, अभियन्ता तथा सर्वसाधारणबीच अन्तक्र्रिया भएको थियो।
'तीनदिने महोत्सवले भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, सामाजिक विकासका विविध सन्दर्भ तथा स्थानीय जनजीवनका अनेक आयामलाई एउटै मञ्चमा समेट्दै क्षेत्रीय मात्र नभई राष्ट्रियस्तरको साहित्य तथा सांस्कृतिक उत्सवको रूप लिएको छ,' संयोजक शाहले भने, 'नेपालका थारू समुदायको समृद्ध मौलिकता, परम्परा, लोकजीवन, भाषा, साहित्य, कला, संस्कृतिलाई राष्ट्रिय आकर्षण र विमर्शको केन्द्रमा ल्याउने उद्देश्य यस महोत्सवले पूरा गरेको छ। हाम्रो यस प्रयासले सुदूरपश्चिम प्रदेशको साहित्यिक र सांस्कृतिक पहिचानलाई थप मजबुत र दिगो बनाउँदै बहुभाषिक–बहुसांस्कृतिक सहअस्तित्वको सन्देश प्रवाह गरेको छ।'
यी कार्यक्रमहरूले टीकापुर साहित्य महोत्सव केवल साहित्यिक जमघट मात्र नभई 'बहुआयामिक सांस्कृतिक उत्सव' भएको शाहले उल्लेख गरेका छन्।
उनका अनुसार महोत्सवमा देशका विभिन्न क्षेत्रका प्रतिष्ठित भाषाविद्, साहित्यकार, कलाकार तथा सांस्कृतिक अभियन्ताहरूको सहभागिता रहेको थियो, जसले महोत्सवलाई बौद्धिक र सिर्जनात्मक रूपमा समृद्ध बनाएको बताए।
महोत्सवको औपचारिक उद्घाटन हुनुपूर्व चैत ७ गतेदेखि प्रसिद्ध नाटककार अशेष मल्लको अगुवाइमा विभिन्न नाट्य कार्यशाला तथा टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका एवं जानकी गाउँपालिकाका विभिन्न स्थानहमा सडक नाटक प्रदर्शन भएका थिए। यसले स्थानीय युवामा रंगमञ्चप्रतिको आकर्षण बढाउनुका साथै सिर्जनात्मक अभिव्यक्तिको अवसर प्रदान गरेको उनको भनाइ छ।
त्यसैगरी चैत ९, १० र ११ गते साहित्यकारद्वय नीलम कार्की निहारिका र केशव दहालको सहकार्यमा लेखन कार्यशाला सञ्चालन गरिएको थियो। कार्यशालाले युवामा कथा, कविता र संस्मरण लेखन क्षमता अभिवृद्धि गर्न सहयोग पुगेको जनाइएको छ।
आयोजकका अनुसार महोत्सवले स्थानीय स्तरमा उत्साह सिर्जना गर्नुका साथै टीकापुरलाई साहित्यिक तथा सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्न टेवा पुर्याउने अपेक्षा गरिएको छ। साथै यसले स्थानीय पर्यटन प्रवद्र्धन, आर्थिक गतिविधि वृद्धि र सांस्कृतिक जागरणमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
महोत्सवको अर्को उद्देश्य स्थानीय भाषा, लोकसाहित्य, संस्कृति र जनजीवनको प्रवद्र्धन गर्नुका साथै स्थानीय प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्नु रहेको आयोजकले जनाएको छ।
नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देशमा यस्ता महोत्सवहरूले विभिन्न समुदायबीच संवाद र सहअस्तित्व सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

