तुलसी घिमिरेको निर्देशनमा बनेको फिल्म 'पहाड' मा समावेश गीत 'ओम नम शिवाय' सार्वजनिक गरिएको छ।
सार्वजनिक गीतमा रञ्जित सिंह गजमेरको संगीत, भारती घिमिरे र शिव परियारको स्वर छ। गीतका शब्द निर्देशक तुलसी घिमिरेको हो।
गीतको भिडिओमा फिल्मका सबैजसो कलाकारहरू फिचर्ड छन्। निर्देशक घिमिरेका अनुसार फिल्मको कथासँगै जोडिएको यो गीतलाई सेट निर्माण गरेर छायांकन गरिएको हो।
उनले भने, 'यो गीत फिल्मका लागि महत्वपूर्ण छ। यो गीतपछि फिल्मको कथाले नयाँ मोड लिन्छ। हामीले झन्डै १३ दिन लगाएर सेट निर्माण गरेर यो गीतलाई तीन रातमा खिचेका थियौं। फिल्मको महत्वपूर्ण समयमा आउने गीत भएकाले यसमा अधिकाँश कलाकारलाई फिचर्ड गराएका छौं।'
सार्वजनिक गरिएको गीतमा नव अभिनेत्री पञ्चमी घिमिरेका साथमा अरूण क्षेत्री, मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापालगायत कलाकारहरूलाई देख्न सकिन्छ।
निर्देशक घिमिरेले केही वर्षको अन्तरालमा कथावस्तु छनोट गरेर फिल्म तयार गरेको बताए। 'यो विषयलाई फिल्मको माध्यमबाट आम दर्शकसम्म पुर्याउनुपर्छ भन्ने लागेर मैले फिल्म बनाएको हुँ। यसमा मनोरन्जनसँगै एउटा महत्वपूर्ण सन्देश पनि छ,' निर्देशक घिमिरेले भने, 'ग्रामीण सौन्दर्य, धन कमाउन युवाले गाउँ छाड्नुपर्ने बाध्यता, सहरभन्दा गाउँ उपयुक्त रहेको लगायतका सन्देश गीतमा छ।'
'पहाड' आगामी वर्ष २०८३ को बैशाख १ गतेदेखि प्रदर्शनमा आउनेछ। उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन्। उक्त फिल्ममा भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छिन्।
प्रमोद प्रधानको छायांकन रहेको फिल्म भारती घिमिरे र शंकर कोइरालाले सम्पादन गरेका हुन्।