चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले 'क्रिटिक्स अवार्ड २०८१' को नतिजा सार्वजनिक गरेको छ।
समाजले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न १० विधामा उत्कृष्ट चलचित्र र चलचित्रकर्मीहरूको नाम घोषणा गरेको हो। वर्षभर प्रदर्शनमा आएका चलचित्रहरूको सूक्ष्म अध्ययन, विश्लेषण र मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गरिएको समाजले जनाएको छ।
अवार्डमा बहुचर्चित चलचित्र 'शाम्बाला' ले वर्चस्व जमाएको छ। 'शाम्बाला' ले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक (मीनबहादुर भाम) र उत्कृष्ट अभिनेत्री (थिन्ले ल्हामो) गरी तीन महत्वपूर्ण विधामा अवार्ड चुम्न सफल भएको हो। यस्तै, चलचित्र 'गाउँ आएको बाटो' बाट दयाहाङ राईले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् भने सोही फिल्मबाट किशोर आचार्यले उत्कृष्ट साउण्ड डिजाइनको अवार्ड पाएका छन्।
समाजका अध्यक्ष सामीप्यराज तिमल्सिनाका अनुसार, यस वर्ष औपचारिक समारोह आयोजना गर्ने लक्ष्य भए तापनि देशको पछिल्लो राजनीतिक घटनाक्रम, जेनजी आन्दोलन तथा निर्वाचनलगायतका कारणले नतिजा मात्र सार्वजनिक गरिएको हो।
२०८१ र २०८२ सालको अवार्ड वितरण समारोह संयुक्त रूपमा आगामी वर्ष भव्य समारोहकाबीच गरिने समाजले जनाएको छ।
अवार्डका विजेताहरू यसप्रकार छन्ः
उत्कृष्ट चलचित्रः शाम्बाला
उत्कृष्ट निर्देशकः मीनबहादुर भाम (शाम्बाला)
उत्कृष्ट अभिनेताः दयाहाङ राई (गाउँ आएको बाटो)
उत्कृष्ट अभिनेत्रीः थिन्ले ल्हामो (शाम्बाला)
उत्कृष्ट पटकथा/लेखनः सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी (सानो संसार)
उत्कृष्ट छायांकन: आलोक शुक्ला (आँखा)
उत्कृष्ट सम्पादनः जे. हिम ली र एलेक्स गुर्भिट्स (राजागञ्ज)
उत्कृष्ट साउण्ड डिजाइनः किशोर आचार्य (गाउँ आएको बाटो)
स्पेशल मेन्सन (अभिनय): सुपला सापकोटा (बोक्सीको घर)
स्पेशल मेन्सन (कला निर्देशन): पूर्ण बहादुरको सारंगी
नेपाली चलचित्रको कलात्मक र समीक्षात्मक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले समाजले वर्षभरि प्रदर्शनमा आएका चलचित्रहरूमध्येबाट उत्कृष्टलाई पुरस्कृत गर्दै आएको छ।