उज्वल थापाको जीवनयात्रामा आधारिक वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ अब डिशहोम गो (डिगो) ओटिटी प्लेटफर्ममार्फत हेर्न सकिने भएको छ।
यस वृत्तचित्रको प्रदर्शनबाट संकलन हुने आम्दानीको मुख्य अंश 'उज्वल थापा फाउन्डेसन' लाई प्रदान गरिने निर्माण पक्षले घोषणा गरेको छ।
ओटिटी प्लेटफर्म डिगोमा १९९ नेपाली रुपैयाँमा हेर्न सकिनेछ। अमेरिका र अस्ट्रेलियामा ४.९९ डलर र अन्य ठाउँमा २.९९ डलरमा हेर्न सकिनेछ।
उज्वल थापाले सुरू गरेको सामाजिक तथा नागरिक अभियानलाई संस्थागत रूपमा निरन्तरता दिन थप सहयोग पुग्ने निर्माताले बताएको छ।
‘दिमाग घोच्ने मान्छे’ले उज्वल थापाको बाल्यकाल, अमेरिकाको शिक्षा र नेपाल फर्किएपछि उद्यमशीलता मार्फत देश परिवर्तन गर्न उनले गरेको संघर्षलाई केलाएको छ।
दुर्लभ भिडियो फुटेज र उनका साथीहरू, सहयात्रीहरू तथा आलोचकहरूको अनुभव मार्फत यो वृत्तचित्र बनाइएको छ।
दिमाग घोच्ने मान्छे पुस २५ गतेदेखि प्रदर्शनीमा आएको थियो।