नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारदेखि काठमाडौंमा सुरू भएको छ। हिशान्त फराहमन्दद्वारा निर्देशित इरानी फिल्म 'माइ डटर्ज हेयर' प्रदर्शनसँगै निफ सुरू गरिएको हो।
सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा आयोजित उद्घाटन समारोहमा नेपाल सरकारकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्।
कार्यक्रममा नेपालका लागि ब्राजिलका राजदूत कार्लोस अल्बर्टो डेन हार्टोग, नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हास्मी, नेपालका लागि श्रीलंकाका राजदूत रूवन्थी डेलपिटिया, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र भारतीय निर्देशक तथा निर्माता रमेश सिप्पी विशेष अतिथिका रूपमा उपस्थित थिए।
यसैगरी नेपालको पहिलो रंगिन फिल्म 'कुमारी' का निर्देशक प्रेम बस्नेत, वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, निर्देशक समुद्र रेग्मीलगायतका चलचित्रकर्मीहरू पनि सहभागी थिए। प्रमुख अतिथि सचिव बस्नेतले निफले नेपाली फिल्मको बजार र अन्य फिल्म उद्योगसँग सम्बन्ध विस्तारमा सहयोग पुग्ने आशा व्यक्त गरिन्।
ब्राजिलका राजदूत कार्लोस अल्बर्टो डेन हार्टोगले निफलाई सफलताको शुभकामना दिए। उनले आफ्नो देशबाट छनोटमा परेका फिल्मको कथाबारे पनि चर्चा गरेका थिए।
पाकिस्तानी राजदूत अब्रार एच हास्मीले निफलाई सफलताको शुभकामना दिँदै आफू यस महोत्सवमा तेस्रो पटक सहभागी भएको बताए।
बलिउड क्लासिक फिल्म 'शोले' का निर्देशक रमेश सिप्पीले एआईको वर्तमान समयमा चलचित्र महोत्सवको महत्वबारे बोलेका थिए। सिप्पी र अभिनेता राजेश हमालबीच शुक्रबार संवाद कार्यक्रम समेत हुनेछ।
निफका अध्यक्ष केपी पाठकले निम्तो स्वीकार गरी कार्यक्रममा सहभागी अतिथि, चलचित्रकर्मी तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरे।
यस वर्षको निफमा ४० देशका ८८ वटा फिल्महरू प्रदर्शन गरिने तय छ। ६ वटा चिनियाँ र ४ वटा रुसी फिल्म प्रतिस्पर्धाबाहिर रहेर विशेष प्रदर्शन गरिने आयोजकले बताएको छ।
रसियन हाउसमा रसियन फिल्म डेज आयोजना गरिनेछ। अन्य दिन पनि यस स्थानमा प्रदर्शन हुने फिल्महरू निशुल्क हेर्न पाइनेछ। साथै, 'सिजाङ प्यानोरमा' अन्तर्गत ६ वटा चिनियाँ फिल्म तथा वृत्तचित्रहरू प्रदर्शन गरिनेछन्, जुन पर्यटन बोर्ड र छायाँ सेन्टरमा निःशुल्क हेर्न पाइनेछ।
प्रतिस्पर्धामा रहेका फिल्महरू भने सिभिल मल र छाया सेन्टरमा सशुल्क प्रदर्शन हुनेछ। निफ अन्तर्गत १० वटा अन्तक्र्रियात्मक कार्यकम राखिएको छ, जहाँ विभिन्न देशका फिल्मकर्मीहरूले आफ्नो अनुभव साझा गर्नेछन्।
निफ चैत २३ गतेसम्म संचालन हुनेछ।

