यही चैत २७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'राम नाम सत्य' को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्म रिलिजको ८ दिनअघि बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच एक्सनप्रधान ट्रेलर सार्वजनिक गरिएको हो।
फिल्ममा अभिनेता विराज भट्ट आक्रामक र न्यायका लागि लड्ने पात्रका रूपमा देखिएका छन्। सार्वजनिक ट्रेलर दर्शकलाई 'मास एक्सन फिल्मको अनुभूति' दिने खालको लाग्छ।
माइकल चन्दको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा एक्सनसँगै सस्पेन्स र प्रेमसहित सम्बन्ध, पीडा र व्यक्तिगत संघर्षको भावनात्मक पाटो पनि देखाइएको छ।
विराजसहित फिल्ममा सुशील श्रेष्ठ, सुनील थापा, दिव्या रायमाझी, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, खुशी कार्की, आयुष सिंह ठकुरी, दिनेश डिसी, सुधिर श्रेष्ठ, कनिज कोइरालालगायत कलाकारहरूको अभिनय छ।
समग्रमा अपराध, हिंसा र अन्यायविरूद्धको संघर्षलाई मुख्य विषय बनाइएको झल्को ट्रेलरले दिन्छ। ट्रेलरमा देखिएका एक्सन दृश्य, डार्क टोन र सस्पेन्सले दर्शकमाझ उत्सुकता बढाउने अनुमान गर्न सकिन्छ। सार्वजनिक ट्रेलर साहिल खानले तयार पारेका हुन्।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता विराज भट्टले फिल्म दर्शकले मन पराउने विश्वास व्यक्त गरे। उनले भने, 'यो फिल्ममा एक्सन मात्र छैन। प्रेम, सस्पेन्स, पारिवारिक कथा सबै छ। दर्शकले यो फिल्मलाई मन पराउनुहुन्छ भन्ने मलाई लागेको छ।'
सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुधिर श्रेष्ठ, खुशी कार्की लगायतले पनि फिल्मलाई लिएर उत्साह व्यक्त गरे।
निर्देशक माइकल चन्दले ५ वर्ष अघिदेखि यो फिल्मको कथामा काम गरेको बताउँदै मेहनत दर्शकमाझ आउने समय आएको बताए।
माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुति रहेको 'राम नाम सत्य' को निर्माता उपेन्द्र शाही र श्वेता विमली हुन्। माइकल चन्दकै कथा तथा पटकथा रहेको फिल्ममा अभिमन्यू निरवी र समय थपलिया स्क्रिप्ट सल्लाहकार छन्।
कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार छन्। तेज राज छटौट र दमन बहादुर चन्द सह निर्माता रहेको फिल्ममा मोती कार्की क्रिएटिभ निर्माता र राजेन्द्र आचार्य लाइन निर्माता हुन्। मानकृष्ण महर्जनको डीओपी, सियोन श्रेष्ठको छायांकन रहेको फिल्ममा श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याग्राग्राउन्ड म्युजिक छ।
फिल्मको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले गर्नेछ।