नेपाली सर्ट फिल्मलाई व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने उद्देश्यले 'सर्ट फिल्म डेभलपमेन्ट ल्याब' आयोजना हुने भएको छ।
'चलचित्र ल्याब' र काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को सहकार्यमा आगामी जेठ ७ देखि ११ गतेसम्म ५ दिने सघन कार्यशाला सञ्चालन हुन लागेको चलचित्र ल्याबका संस्थापक प्रविन कुमार रावतले बताए।
स्क्रिप्टको तहमा रहेका १० देखि २५ मिनेटसम्मका 'फिक्सन' सर्ट फिल्मका लागि यो ल्याब महत्वपूर्ण अवसर हुने उनको भनाइ छ।
सहभागी हुन इच्छुक फिल्मकर्मीहरूले चैत ३० गतेसम्म आवेदन दिने सक्नेछन्।
ल्याबका लागि देशभरबाट अधिकतम ६ वटा उत्कृष्ट प्रोजेक्ट मात्र छनोट गरिनेछ। छनोटमा परेका प्रोजेक्टका निर्देशक र निर्माताले नेपाली तथा अन्तर्राष्ट्रिय स्तरका विज्ञ मेन्टरहरूबाट प्रत्यक्ष प्रशिक्षण पाउनेछन्। मेन्टरहरूले स्क्रिप्टलाई थप परिष्कृत बनाउन, निर्देशकीय दृष्टिकोण स्पष्ट पार्न तथा अन्तर्राष्ट्रिय बजारका लागि 'पिच तथा पिच डेक' तयार गर्न सहयोग गर्नेछन्।
पाँच दिनको प्रशिक्षणपछि सहभागीहरूले किम्फ महोत्सवका दौरान फिल्म उद्योगका प्रतिष्ठित व्यक्तिहरू, लगानीकर्ता र वितरकहरूसामु आफ्नो प्रोजेक्ट 'पिच' गर्ने मौका पाउनेछन्।
यसपटक उत्कृष्ट प्रोजेक्टहरूका लागि आकर्षक अवार्डको व्यवस्था गरिएको छ। उत्कृष्ट प्रोजेक्टलाई नगद राशि प्रदान गरिनेछ भने अन्य पुरस्कारअन्तर्गत क्यामेरा, लाइट लगायतका सुटिङ सामग्री तथा सम्पादन, रङ संयोजनजस्ता पोस्ट–प्रोडक्सन सेवाहरू निःशुल्क उपलब्ध गराइनेछ।
फिल्म निर्माणपछि त्यसलाई अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा पठाउन वितरण रणनीतिमा समेत सहयोग गरिनेछ। स्टोरी ल्याबका संस्थापक सुशान्त श्रेष्ठका अनुसार आवेदन दिने प्रोजेक्ट अनिवार्य रूपमा 'नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय' मा दर्ता भएको हुनुपर्छ। 'यसले मेकरको सिर्जना सुरक्षित गर्नुका साथै व्यावसायिक निर्माणको आधार बलियो बनाउँछ,' उनले भने।
अर्का संस्थापक प्रविण कुमार रावतले नेपाली युवा फिल्मकर्मीमा कथा भन्ने क्षमता प्रशस्त भए पनि त्यसलाई व्यावसायिक ढाँचामा ढाल्न यो ल्याबले पुलको काम गर्ने बताए। 'हाम्रो लक्ष्य भनेकै नेपाली सर्ट फिल्मलाई अन्तर्राष्ट्रिय मेन्टरहरूको सहयोगमा विश्वस्तरीय बनाउनु हो,' उनले भने।
ल्याबमा एक निर्देशक र एक निर्माता अनिवार्य रूपमा सहभागी हुनुपर्ने प्रावधान छ। छनोट भएका प्रोजेक्टहरूको नतिजा वैशाख १६ (अप्रिल २८) मा सार्वजनिक गरिने बताइएको छ।
सहभागी हुन चाहनेले अनलाइन फारममार्फत आफ्ना अघिल्ला काम, पटकथा तथा अन्य आवश्यक कागजात बुझाउनुपर्नेछ।