अभिनेता विराज भट्टको मुख्य अभिनय रहेको फिल्म 'राम नाम सत्य' आगामी शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। यो फिल्मको बिहीबार एक्सनप्रधान ट्रेलर सार्वजनिक गरिएको थियो। यद्यपि, फिल्ममा एक्सनमात्रै नभएको विराजले बताए।
आयोजित ट्रेलर रिलिज कार्यक्रममा बोल्दै विराजले एक्सनले मात्रै फिल्म नचल्ने धारणा राखे।
'एक्सन फिल्म भन्ने वित्तिकै हामी खाली फाइटलाई मात्रै बढी दिमागमा राख्छौं। तर फाइटले मात्रै फिल्म चल्दैन। त्यसमा कथावस्तु हुनुपर्छ, इमोशन हुनुपर्छ,' विराजले भने, 'एक्सन पनि इमोशनसँग रिलेटेड हुनुपर्छ। कलाकारहरुको उत्कृष्ट अभिनय, राम्रो नृत्य, डिरेक्टरको आफ्नै निर्देशन क्षमता–यी सबै कुरा महत्वपूर्ण हुन्छन्। मेन भनेको कथा नै हो।'
उनले थपे, 'जहाँसम्म मलाई लाग्छ, यो फिल्ममा सबै पात्रको भूमिका, महिला सेन्टिमेन्ट पनि सिनेमामा समेटिएको छ। यो मारकाटसँग मात्र सम्बन्धित फिल्म होइन, सबै किसिमका दर्शकलाई ग्र्याप गर्ने खालको फिल्म बनेको छ। एक्सन र फाइट अवश्य राम्रो छ, त्योसँगै बलियो इमोशन, प्रभावशाली प्रस्तुति, सस्पेन्स सबै कुरा छन्।'
विराजले फिल्मको गीत र टिजरले राम्रो प्रतिक्रिया पाएको बताउँदै अब दर्शकको प्रतिक्रिया पर्खिएको बताए। उनले भने, 'समय लाग्यो। तर राम्रो फिल्म बनाउन समय लाग्नु सामान्य कुरा हो। अब हाम्रो पर्खाइ भनेको दर्शकको प्रतिक्रिया हो।'
बिहीबार सार्वजनिक ट्रेलरले पनि दर्शकमाझ राम्रो प्रतिक्रिया पाइरहेको छ।
माइकल चन्द निर्देशित 'राम नाम सत्य' मा विराजसहित सुनिल थापा, सुशील श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, दिनेश डिसी, खुशी कार्कीलगायत कलाकारहरूको अभिनय छ।
फिल्म नयाँ वर्षको अवसर पारेर चैत २७ गतेदेखि प्रदर्शनमा आउन लागेको हो।