फिल्म 'लालीबजार' मा समावेश गीत 'मायालाई के दिऊँ म बैना' छोटो समयमै करोड क्लबमा पुगेको छ।
दीपिका बयाम्बु मगर र खेम सेञ्चुरीको स्वर रहेको गीतलाई तीन सातामै युट्युबमा एक करोडभन्दा बढीपटक हेरिएको हो।
फिल्म 'लालीबजार' बैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। फिल्म रिलिज हुन झन्डै एक महिना बाँकी भए 'मायालाई के दिऊँ म बैना' को यो सफलताले 'लालीबजार' प्रति दर्शकको उत्साह र अपेक्षा समेत बढाएको पाइन्छ।
गीतले करोड क्लबको सफलता पाएसँगै निर्माण टिमले आइतबार केक काटेर खुसी साटेको छ।
रमेश बिजीको शब्द, खेम सेञ्चुरीको संगीत रहेको गीतको भिडिओमा अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापाको नृत्य छ। भिडिओका कोरियोग्राफर प्रदीप लामा हुन्।
गीत सार्वजनिक भएसँगै टिकटक तथा फेसबुक रिल्समा पनि निकै चर्चामा आएको थियो। कलाकारहरूको डान्स स्टेपहरू पनि सामाजिक सञ्जालमा भाइरल देखिन्छ।
षट्कोण आर्टस्को निर्माणमा बनेको फिल्म 'लालीबजार' यम थापाले निर्देशन गरेका हुन्। कार्यकारी निर्माता प्रदीप भट्टराई छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ फिल्मको निर्माता हुन्।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेललगायत कलाकारहरूको अभिनय छ।