नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड दीपक रौनियार निर्देशित 'राजागंज' (पूजा सर) ले जितेको छ।
काठमाडौंको सुन्धारास्थित सिभिल मलमा सोमबार आयोजित समापन समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा उक्त अवार्ड प्रदान गरिएको हो। विजेता चलचित्रलाई ट्रफी र एक हजार पाँच सय अमेरिकी डलर पुरस्कारले सम्मान गरिएको छ।
सर्वोत्कृष्ट राष्ट्रिय चलचित्रतर्फको अवार्ड समुन्द्र भट्ट निर्देशित 'गुन्यू चोलोः द ड्रेस' ले पाएको छ। यो फिल्मले ट्रफी र एक हजार अमेरिकी डलर प्राप्त गरेको छ। यही चलचित्रबाट समुन्द्रले उत्कृष्ट निर्देशकको अवार्ड जितिन् भने नाजिर हुसेनले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जिते।
त्यस्तै,चलचित्र 'कोशेढुंगा' बाट सुरक्षा पन्तले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्।
राष्ट्रियतर्फ सर्वोत्कृष्ट पटकथाकारको अवार्ड चलचित्र 'केटी हराएको सूचना' बाट दीपेन्द्र गौचनलाई प्रदान गरिएको छ। सर्वोत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड चलचित्र 'कोशेढुंगा' बाट बाबु श्रेष्ठले पाएका छन्।
दक्षिण एसियाली चलचित्र अन्तर्गतको प्रतिस्पर्धामा नेपाली भाषाको भारतीय चलचित्र 'जार' सर्वोत्कृष्ट घोषित भएको छ। फुर्वा क्षिरिङ लामा निर्देशित यस चलचित्रलाई ट्रफी र पाँच सय अमेरिकी डलर प्रदान गरिएको छ।
त्यस्तै, सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्रीको अवार्ड आइसल्यान्डको 'ग्राउन्ड बिनिथ आवर फिट' ले जितेको छ। इर्सा रोका फ्यानबर्ग निर्देशित यस डकुमेन्ट्रीलाई ट्रफी र एक हजार अमेरिकी डलरले सम्मान गरिएको छ।
सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय सर्ट फिल्मको अवार्ड 'सिप' ले पाएको छ। हादी बाबेइफरद्वारा निर्देशित इरानको यस सर्ट फिल्म ट्रफी र पाँच सय अमेरिकी डलरले सम्मानित भएको छ।
सर्वोत्कृष्ट एआई थिम्ड सर्ट फिल्मको अवार्ड जितेको 'स्पिरिट अफ द माउन्टेन' ट्रफी र पाँच सय अमेरिकी डलरले सम्मानित भएको छ। पाङ जियाद्वारा निर्देशित यो चिनियाँ सर्ट फिल्म हो। सर्वोत्कृष्ट विद्यार्थी चलचित्रको अवार्ड मेक्सिकोको चलचित्र 'पासारिन्हो' ले प्राप्त गरेको छ। यो चलचित्रलाई पाँच सय डलर र ट्रफीले सम्मान गरिएको छ।
राष्ट्रिय डकुमेन्ट्रीतर्फ दीपक छोदेन लामाद्वारा निर्देशित 'होम इज नट अ प्लेस' र राष्ट्रिय सर्टतर्फ सुरज पौडेलद्वारा निर्देशित 'रिहाना' उत्कृष्ट घोषित भएका छन्। यी दुवै ट्रफी र पचास हजार रूपैयाँले सम्मानित भए।
डन किहोते सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड इरानी फिल्म 'माई डटर्ज हेयर' ले पाएको छ। हेसाम फराहमान्दद्वारा निर्देशित यस फिल्मलाई प्रमाणपत्रले सम्मान गरिएको छ।
स्पेशल मेन्सन राष्ट्रिय डकुमेन्ट्री ङिमा गेलु शेर्पाद्वारा निर्देशित 'एज डे गोज बाइ' घोषित भयो। यसलाई प्रमाणपत्रले सम्मान गरियो। स्पेशल मेन्सन अन्तर्राष्ट्रिय सर्ट फिल्म भारतको 'हाउसकिप्पर' घोषित भयो। सुर्या बालाकृष्णद्वारा निर्देशित यस सर्ट फिल्मलाई प्रमाणपत्रले सम्मान गरियो।
यसैगरी स्पेशल जुरी मेन्सन अन्तर्राष्ट्रिय चलचित्र अवार्ड भने ची झाङ निर्देशित चिनियाँ चलचित्र 'द शोर अफ लाइफ' ले पाएको छ।
समारोहमा प्रमुख अतिथि हार्तम्छालीले महोत्सवले नेपाली चलचित्रलाई अन्तराष्ट्रिय फिल्म उद्योगसँग जोड् महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै निफका अध्यक्ष केपी पाठकलाई धन्यवाद दिए।
अध्यक्ष पाठकले निफ सफल पार्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। चैत १९ गतेदेखि सुरु भएको निफ सोमबार सम्पन्न भएको हो।



