मौलिक कथाको बहस हुँदै गर्दा काठमाडौंमा ‘चलचित्रमाः काली-कर्णाली' विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ।
सोमबार चलचित्र विकास बोर्डको हलमा दुई चरणमा काली–कर्णालीमा चलचित्र निर्माणको समस्या र सम्भावनाबारे छलफल गरियो। एभरेष्ट ग्यालरीको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा भएको कार्यक्रमको उद्घाटन बोर्डका अध्यक्ष दिनेश डिसीले गरेका थिए।
प्रारम्भमा विभिन्न संघ–संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूले नेपाली चलचित्रमा सुदूरपश्चिम र कर्णाली प्रदेशको सम्भावना, सहभागिता तथा त्यहाँका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक विषयवस्तुबारे आ–आफ्ना धारणा राखेका थिए।
सो अवसरमा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक राजबहादुर साने, कलाकार सुशील पोखरेल, कर्णाली चलचित्र महोत्सवका अध्यक्ष तथा चलचित्रकर्मी चक्रबहादुर चन्द लगायतले आफ्नो विचार व्यक्त गरेका थिए।
कार्यक्रमको पहिलो चरणमा 'चलचित्रमा काली कर्णालीः कति समेटियो, कति छुट्यो?' शीर्षकमा अन्तरर्किया गरिएको थियो।
सञ्चारकर्मी लक्ष्मी बलायर सहजकर्ता रहेको उक्त सत्रमा निर्देशक लक्ष्मण सुनार, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली र चलचित्रकर्मी तथा उद्धमी देवेन्द्र बजगाईं वक्ताको रूपमा सहभागी थिए। उनीहरूले कर्णाली क्षेत्रमा चलचित्र छायांकनका लागि आवश्यक लगानी, स्थानीय भाषा, भेषभूषा तथा कथावस्तुका विविध पक्षबारे छलफल गरेका थिए।
त्यसक्रममा निर्देशक लक्ष्मण सुनारले काली÷कर्णालीमा कथाहरु धेरै भएपनि लगानी अभावका कारण फिल्म बनाउनुअघि धेरै सोच्नुपर्ने बताए। उनले ३ वर्षअघि कर्णालीकै जारी प्रथाको कथामा ‘बुलाकी’ बनाएका थिए। जुन फिल्मले बक्सअफिसमा खासै व्यापार गर्न सकेन। जसकारण अब त्यहाँकै भाषामा फिल्म नबनाउने उनको भनाइ छ। यद्यपी लगानी पाएको खण्डमा त्यहाँका कथावस्तु र छायांकन स्थललाई पनि व्यवसायिक रूपमा जोड्न सकिने उनको तर्क छ।
त्यस्तै, मोहन निरौलाले पनि काली–कर्णालीमा छायांकनक्षेत्रदेखि कथाका हिसाबले निकै सम्भावना रहेको बताए।
प्रायजसो चलचित्रमा काली–कर्णालीका कथा देखाउँदा कि राराको सुन्दरता देखाइन्छ कि गरिबी र भोकमरी बेच्ने गरेको गुनासो सुनिन्छ। सामान्य तथा आधुनिक कथाहरु भने आउन नसकिरहेको बताइन्छ।
निर्देशकले भावना भन्दा व्यवसायिक हिसाबले चलचित्र बनाउने हुँदा जोखिम लिन डराएको निर्देशक समाजका अध्यक्ष पराजुलीले स्वीकारे। उनले पनि लगानी धेरै खर्च हुँदा धेरै निर्देशकले त्यहाँको कथामा काम गर्न गाह्रो परिरहेको बताए। उद्यमी बजगाईंले काली–कर्णालीमा क्षेत्रमा फिल्म निर्माणका लागि लगानी जुटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको दोस्रो चरणमा चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्देशक दिनेश डीसी, सांसद ज्ञानेन्द्र शाही, ऐन महर, वासना थापा र अभिनेता दीपकराज गिरी सहभागी थिए। सञ्चारकर्मी डीबी खड्काले सहजीकरण गरेको उक्त सत्रमा चलचित्रसम्बन्धी नीतिगत विषय, प्रस्तावित विधेयक, काली–कर्णाली क्षेत्रको प्राकृतिक सुन्दरता, भाषागत तथा सांस्कृतिक विविधता तथा छायांकनका सम्भावनाबारे चर्चा गरिएको थियो।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व निर्देशक माधवराज खरेल थिए।
कार्यक्रमका संयोजक एभरेष्ट ग्यालरीका प्रबन्ध निर्देशक तथा कलाकार सनम कठायत रहेका थिए भने सञ्चालन सेसेमी लिम्बूले गरेकी थिइन्।