प्रदीपकुमार चौधरीको डेब्यू निर्देशकीय फिल्म 'तरंग' को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण कम्पनी देवदत क्रियशनले फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रचार थालेको हो।
सार्वजनिक पोस्टरमा प्रमुख कलाकारद्वय वरूण अधिकारी र रविना केसी फिचर्ड छन्। उत्सव पाण्डेले तयार गरेको पोस्टरमा कलाकारद्वय अधिकारी र केसीको मौन प्रेमभाव देखिन्छ।
यो फिल्ममा वरूण र रविनासहित बारात लिम्बु, कृष्ण थापा, सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरूङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग र बाल कलाकार प्रन्शु चौधरी प्रमुख अभिनयमा छन्।
फिल्मको कथा निर्देशक चौधरी स्वयंको हो। तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहेको फिल्ममा हरिनारायण चौधरी कार्यकारी निर्माता छन्। महेश पौडेलले छायांकन गरेको ‘तरंग’मा सन्देश शाहको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व, मनोज थापा मगर, पवन गिरी र मनोज महतोको संगीत समावेश छ। पाश्र्व ध्वनी सुशील डंगोल र सुदीप श्रेष्ठको छ। निर्माण व्यवस्थापन प्रमुख रिजन परियार हुन्।
मोरङ, सुनसरी, पाल्पा, रुपन्देही, चितवन र कास्कीमा छायांकन गरिएको फिल्मको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन। यसै साता फिल्मको आधिकारिक रिलिज मिति सार्वजनिक गरेर प्रचार प्रसारमा जुट्ने निर्देशक चौधरीले बताए। फिल्मको निर्माणमा देवदत देवदत क्रियशनसँग एवी फिल्मीले सहकार्य गरेको हो।
निर्देशक चौधरीले फिल्मलाई सुपर नेचुरल लभस्टोरी (अलौकिक प्रेम कथा)को संगम भनेका छन्। समाजमा देखिँदै आएको, भोग्दै आएको भन्दा भिन्न प्रकृतिको प्रेमकथामा 'तरंग' तयार भएको निर्माण टिमको दाबी छ।