दर्शकमाझ लोकप्रिय हास्य टेलिभिजन शो 'कमेडी दरबार' को तेस्रो सिजन प्रसारण तयारीमा छ।
यसपटक अझ भव्य सेट, नयाँ प्रस्तुति शैली र विविधतापूर्ण सामाग्रीसहित शो दर्शकमाझ आउन लागेको निर्माण पक्षले जनाएको छ। शोमा महाराजाको रूपमा मनोज गजुरेल र महारानीको रूपमा गौरी मल्ल यथावत रहनेछन् भने अभिनेत्री दीया मास्के नयाँ रूपमा रानीको भूमिकामा देखिनेछिन्। त्यस्तै, यस सिजनमा दिनेश काफ्ले, सन्तोष थापा र सुजन जिम्बालाई नयाँ कमेडियनका रूपमा देख्न पाइनेछ।
अघिल्ला सिजनका कलाकारहरू सीडी विजय अधिकारी, विश्वास तिम्सिना (बीटी कान्छा), सुन्दर खनाल, पवित्रा साँकी (मिस पबी), सुजाता श्रेष्ठ, पवन खतिवडा, खड्ग बहादुर पुन (खबपु) र विकास अर्याल पनि यथावत रहनेछन्।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलनकामा निर्माण टिमले शोमा थपिएका नयाँ सदस्यबारे औपचारिक जानकारी दिइएको हो। लेखन टिममा विकास अर्याल र सरोज भण्डारी रहनेछन् भने कार्यक्रम सञ्चालन सजिना खनाल र विक्की अग्रवालले नै गर्नेछन्। निर्देशन पनि विक्की अग्रवाल र श्रद्धा प्रसाईंले गर्नेछन्।
निर्माण टिमल यस सिजनमार्फत अझ परिष्कृत प्रस्तुति र उच्चस्तरीय मनोरञ्जन दिने लक्ष्य लिएको जनाएको छ। अघिल्ला सिजनमा जस्तै यस सिजनमा पनि चलचित्र, गीत संगीतसँगै अझ फरक क्षेत्रका अतिथिहरूलाई पनि ल्याउने कोसिस रहने गेस्ट कोर्डिनेटर गोपीकृष्ण चापागाईले जानकारी दिए।
'कमेडी दरबार ३' आगामी बैशाख ४ गतेदेखि हरेक शुक्रबार राति ९ बजे ओएसआर रियालिटी तथा प्राइम टाइम टेलिभिजनमार्फत प्रसारण हुनेछ।