प्रदर्शन तयारीमा रहेको फिल्म 'पहाड' को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार सार्वजनिक ट्रेलरमा फिल्मको विषययवस्तुबारे संक्षिप्तमा जानकारी दिइएको छ।
पहाडको सुन्दरता, युवा पलायन, सामाजिक समस्या र भावनात्मक संघर्षको कथा फिल्मले भन्ने ट्रेलरले बताउँछ। बेरोजगारी, मानव विहिन रित्तिएको पहाड तथा पानीको समस्या समेत देखाइएको छ। निर्देशक तथा लेखक तुलसी घिमिरेले फिल्मले समसामयिक नेपालको विषय उठाएको बताएका छन्।
उनले भने, 'पहाड सन्दर ठाउँ हो, हामीले सुन्दरता र सद्भावसँगै रित्तिँदै गइरहेको पहाडको कथालाई चित्रण गरेका छौं। यो कथा पहाडमा सेटअप गरिएको भए पनि यो समग्र देशकै चित्रण हो।'
फिल्म 'पहाड' मा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरूण क्षेत्रीसँगै नव अभिनेत्री पञ्चमी घिमिरेको अभिनय छ। निर्देशक घिमिरेले केही वर्षको अन्तरालमा कथावस्तु छनोट गरेर फिल्म तयार गरेको बताए।
‘यो विषयलाई फिल्मको माध्यमबाट आम दर्शकसम्म पुर्याउनुपर्छ भन्ने लागेर मैले फिल्म बनाएको हुँ। यसमा मनोरञ्जनसंगै एउटा महत्वपूर्ण सन्देश पनि छ,' निर्देशक घिमिरेले भने, 'ग्रामीण सौन्दर्य, धन कमाउन युवाले गाउँ छाड्नुपर्ने बाध्यता र गाउँको जीवन सहरभन्दा उपयुक्त रहेको सन्देश फिल्ममा देखाइएको छ।'
निर्देशक घिमिरेले यस पटक 'बलिदान' मा काम गरेका मदनकृष्ण श्रेष्ठ, 'चिनो' मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि 'पहाड' मा कास्ट गरेका छन्।
फिल्म प्रमोद प्रधानले छायांकन गरेका हुन्। प्रधानले भारतमा फिल्म, वेबसिरिज र टेलिफिल्मसमेत छायांकन गरिसकेका छन्। उनले निर्देशक घिमिरेसँग 'अन्याय', 'कोसेली', 'चिनो' र 'दक्षिणा' लगायतका फिल्ममा सहकार्य गरेका थिए।
भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएको 'पहाड' मार्फत निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरे अभिनेत्रीको रूपमा डेब्यु गर्दैछिन्। यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन्।
फिल्मको संगीत निर्देशक रञ्जित सिंह गजमेर हुन्। उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन्। फिल्ममा भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छिन्।
'पहाड' को वितरण नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले गर्नेछ। यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो। फिल्ममा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, शङ्कर कोइराला र भारती घिमिरेको सम्पादन छ।
'पहाड' नेपाली नयाँ वर्षलाई लक्षित गर्दै वैशाख १ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन तयारीमा छ।