अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै फिल्ममा देखिने भएका छन्।
संगीतकारका रूपमा स्थापित हरि लम्सालको डेब्यु निर्देशन रहने फिल्म 'बाः एक योद्धा' मा झरना र सुहानाको मुख्य भूमिका रहने पक्का भएको हो।
विगत दुई सातादेखि छायांकन भइरहेको यस फिल्मको निर्माण पक्षले कलाकारहरूको नाम गोप्य राखेको थियो। हाल काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको फिल्मको सेटबाट केही तस्बिरहरू सार्वजनिक भएका छन्, जहाँ झरना–सुहानाले एकसाथ अभिनय गरिरहेको देखिन्छ।
सुहानाको फिल्म 'परालको आगो' प्रदर्शन तयारीमा रहेकोमा उनी नयाँ फिल्मको छायांकनमा व्यस्त बनेकी हुन्।
फिल्मको काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै छायांकन सुरू गरिएको थियो। 'आर्टिस्टिक इन्टरटेनमेन्ट' को ब्यानरमा निर्माण भइरहेको यो फिल्मले नेपाली समाजको एउटा अत्यन्तै मार्मिक र यथार्थपरक कथालाई समेट्ने प्रयास गरेको बताइएको छ।
दर्जनौं चर्चित गीतमा संगीत तथा पार्श्व गायन गरिसकेका हरि लम्साल यसै फिल्ममार्फत निर्देशकको रूपमा डेब्यु गर्दैछन्। उनले निर्देशनसँगै फिल्मको कथा र पटकथा समेत आफैले तयार पारेका हुन्।
फिल्मले नेपाली परिवारमा 'बुवा' को महत्व र अस्तित्वलाई प्रस्तुत गर्ने बताइएको छ। बाबुले आफ्नो सन्तानको उज्ज्वल भविष्यका लागि गर्ने अथक त्याग, जीवनभर सामना गर्ने चुनौती र संघर्षलाई फिल्ममा 'योद्धा' को रूपमा चित्रण गरिने निर्माण टिमले जनाएको छ।
निर्माण टिमका अनुसार ग्रामीण परिवेशदेखि सहरी समाजसम्मका एउटा बाबुले आफ्नो काँधमा बोक्ने जिम्मेवारी र भावनात्मक सम्बन्धको कथालाई फिल्मले पर्दामा उतार्ने लक्ष्य राखेको छ। साथै, यो एक शुद्ध सामाजिक र भावनात्मक मनोरञ्जनात्मक फिल्म हुने जनाइएको छ।
यस फिल्मका निर्माता वसन्त लम्साल हुन्। गायक तथा सर्जक समेत रहेका उनले यसअघि अभिनेता विपिन कार्कीलाई लिएर फिल्म 'कर्मा' निर्माण गरेका थिए।
शिवराम श्रेष्ठले छायांकन गरिरहेको फिल्मको मुख्य सहायक निर्देशकमा तारा नाथ न्यौपाने रहेका छन्।
छायांकनको सम्पन्न भएपछि मात्र प्राविधिक पक्षको काम हेरेर प्रदर्शन मिति घोषणा गरिने निर्माण पक्षको भनाइ छ।
