आगामी वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'मालती मंगले' को टिजर सार्वजनिक गरिएको छ।
गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको फिल्मको टिजरले गाउँले परिवेशमा आधारित एउटा रोचक र मार्मिक प्रेमकथाको झल्को दिएको छ। केही वर्ष पुरानो ग्रामीण समाजको पृष्ठभूमिमा खिचिएको फिल्मको टिजरमा प्रेम, विश्वास र शंकाका विभिन्न पाटाहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।
टिजरमा विजय बराल र वर्षा राउतबीचको भेटदेखि विवाहसम्मको यात्रालाई देखाइएको छ। प्रारम्भमा प्रेम र वाचाले भरिएको सम्बन्ध विवाहपछि भने शङ्का र द्वन्द्वतर्फ मोडिएको संकेत गरिएको छ। टिजरमा विजयको आक्रोशपूर्ण दृश्य र मालती (वर्षा) को भावुक प्रतिक्रिया कथाको मुख्य तनावका रूपमा प्रस्तुत छन्।
प्रकु पाण्डेयको कथा तथा निर्देशनमा बनेको फिल्म रानी फिल्मस्को व्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो। फिल्मको पटकथा तथा संवाद संयोग गुरागाईँले लेखेका हुन्।
फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलको शीर्ष अभिनय छ। साथमा प्रकाश घिमिरे, सुवर्ण थापा, उमेश सुनाम, सुष्मा निरौला, सरिता गिरी, राज पंगेनी शर्मा, तारा शर्मा, गीता श्री, रिजन परियार, शकु शाहलगायतले अभिनय गरेका छन्।
फिल्मको कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह–निर्माताहरूमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरूङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ छन्।
महेश पौडेलको छायांकन रहेको फिल्ममा रोमी मोजेजको सम्पादन छ।
'मालती मंगले' आरआर फिल्म्सले वितरण गर्नेछ।