शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'राम नाम सत्य' को सिक्वेल घोषणा गरिएको छ। फिल्मको अन्त्यमा विशेष रूपमा सिक्वेलको संकेत दिँदै 'राम नाम सत्य २' को घोषणा गरिएको हो।
फिल्म सकिएपछि देखाइने यस्तो दृश्यलाई सामान्यतया पोस्ट-क्रेडिट दृश्य भनिन्छ, जसमार्फत आगामी भागको संकेत प्रस्तुत गरिएको हुन्छ।
एक्सन-ड्रामा जनरामा बनेको 'राम नाम सत्य' मा अभिनेता विराज भट्ट शीर्ष भूमिकामा छन्। उनका साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुनिल थापा, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार, खुशी कार्कीलगायत कलाकारहरूको अभिनय छ।
फिल्मको अन्तिम दृश्यमा डेब्यु अभिनेता तथा चर्चित टिकटकर आयुष सिंह ठकुरीलाई केन्द्रमा राख्दै 'राम नाम सत्य २' उल्लेख गरिएको छ। जसका कारण सिक्वेलमा उनको मुख्य भूमिका रहने गरी यसको घोषणा गरिएको संकेत मिल्छ। सिक्वेल योजनाबारे निर्माण पक्षले यसअघि नबताए पनि फिल्म हेर्न हल जाने दर्शकले यसबारे जानकारी पाउँछन्।
माइकल चन्दको निर्देशनमा बनेको 'राम नाम सत्य' उत्साहजनक शोसहित प्रदर्शनमा आएको हो। फिल्ममा 'अगुआ' (नेता) नामक एक रहस्यमय पात्र उदाउँछ, जसले भ्रष्ट राजनीतिज्ञ र व्यवसायीहरूलाई एक-एक गरी हत्या गर्न थाल्छ।
प्रत्येक घटनास्थलमा उसले आफ्नै विशेष संकेत छोड्ने गर्छ, जसले उसको पहिचान र उद्देश्यलाई अझ रहस्यमय बनाउँछ। कथाले भ्रष्टाचारविरुद्धको चरम कदम, न्यायको वैकल्पिक परिभाषा र सत्ताको दुरूपयोगजस्ता विषयलाई केन्द्रमा राखेको देखिन्छ।
फिल्म प्रदर्शनमा आएसँगै मुख्य अभिनेता विराज भट्टसहित अन्य कलाकारहरू दर्शक भेट्न हलमा पुगिरहेका छन्।
माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको निर्माता उपेन्द्र शाही र श्वेता विमली हुन्।
फिल्मको व्यापार भने यसको 'वर्ड अफ माउथ' मा निर्भर रहनेछ।