बैशाखमा प्रदर्शन तयारीमा रहेको फिल्म 'परालको आगो' मा समावेश ‘निम्तो सुपारी’ बोलको गीत सार्वजनिक गरिएको छ। लोकलयमा आधारित यो गीत निर्माण पक्षले शुक्रबार ओएसआर डिजिटल युटयुबमार्फत सार्वजनिक गरेको हो।
सत्यराज आचार्य र मेलिना राईको स्वर रहेको यस गीतमा सत्य र स्वरूपराज आचार्यले संगीत दिएका छन्। सुरेन्द्र रानाको शब्द रहेको गीतको संगीत संयोजन (म्युजिक प्रोडक्सन) रिकेश गुरूङले गरेका हुन्।
भिडिओमा फिल्मका मुख्य कलाकार सुहाना थापा र प्रकाश सपुतको जोडी देखिएका छन् भने अर्को जोडी सौगात मल्ल र सिर्जना अधिकारी पनि प्रस्तुत भएका छन्।
भिडिओमा कलाकारहरूको केमेस्ट्री राम्रो देखिएको छ। ग्रामीण परिवेशको गीतको भिडिओको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।
यसअघि सार्वजनिक भएको 'उडि जाउँ भने म पंक्षी होइन' बोलको गीतले दर्शकमाझ लोकप्रियता हासिल गरिरहेको छ। नयाँ सार्वजनिक गीत 'निम्तो सुपारी' ले पनि स्रोता/दर्शकमाझ चर्चा बटुल्ने निर्माण पक्षको अपेक्षा छ।
गुरू प्रसाद मैनालीको अमर कृति 'परालको आगो' बाट प्रेरित यस फिल्ममा सुहाना, सौगात प्रकाश, र सिर्जनासहित किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँलगायत कलाकारहरूले अभिनय गरेका छन्।
लक्ष्मण सुनारको निर्देशन रहेको फिल्म हरि ओम सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको हो। फिल्मको निर्माता सुशील पोखरेल हुन्। फिल्ममा संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ।
'परालको आगो' बैशाख ११ गतेदेखि प्रदर्शन तयारीमा छ।