चलचित्र पत्रकार संघ नेपालले यस वर्षको राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरेको छ।
संघका अध्यक्ष समीर बलामीको अध्यक्षतामा शनिबार बसेको कार्यसमिति बैठकले जेठ ७ गते आयोजना हुने वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसका अवसरमा प्रदान गरिने सम्मान तथा पुरस्कार घोषणा गरेको हो।
संघले पत्रकार अनन्त वाग्लेलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८३ प्रदान गर्ने भएको छ। नगद ५५ हजार ५ सय ५५ रूपैयाँसहित यो सम्मान प्रदान गरिनेछ। त्यस्तै यस वर्षको राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान जयन सुब्बा मानन्धर र कुवेर गिरीलाई प्रदान गरिने भएको छ।
घोषणाअनुसार यस वर्षको ‘राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान’ स्वर्गीय दिनेश सिटौलालाई प्रदान गरिने भएको छ।
यस्तै, ‘स्व. दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ सुरक्षा भट्टराईलाई प्रदान गरिनेछ। यो पुरस्कारमा नगद ५१ हजारसहित सम्मान गरिनेछ।
त्यसैगरी, ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३’ वैकुण्ठराज पराजुलीलाई प्रदान गरिने भएको छ। यो पुरस्कारमा पनि नगद ५१ हजार रूपैयाँसहित सम्मान गरिनेछ।
यस्तै, ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८३’ मिलन ढुंगानालाई प्रदान गर्ने निर्णय सर्वसम्मत रूपमा पारित भएको महासचिव गोपीकृष्ण चापागाईंले जानकारी दिए। यो पुरस्कारको राशि २५ हजार रूपैयाँ छ।
चलचित्र पत्रकार संघले यसवर्ष आफ्नो २७ औं वार्षिकोत्सव मनाउँदैछ।