फिल्म 'रोल नं. १'को ट्रेलर सार्वजनिक भएको छ।
युट्युबमा सार्वजनिक ३ मिनेट १४ सेकेन्डको ट्रेलरमा शिक्षा प्रणाली, विद्यार्थीमाथिको मानसिक दबाब र अभिभावकको सपनाबीचको संघर्षलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।
ट्रेलरमा गाउँको विपन्न परिवार आफ्नो छोरालाई राम्रो शिक्षा दिलाउने संघर्षमा देखिन्छ। आर्थिक अभाव, सामाजिक दबाब र प्रतिस्पर्धात्मक शिक्षाप्रणालीबीच अभिभावकले आफ्ना सन्तानलाई 'रोल नं. १' बनाउन खोज्दा बालमनोविज्ञानमा पर्ने असरलाई ट्रेलरले मुख्य विषय बनाएको संकेत गर्छ।
विद्यालय जीवन, परीक्षाको तनाव, अभिभावकको अपेक्षा र बालबालिकाको मनोस्थिति ट्रेलरका प्रमुख पक्षका रूपमा देखिएका छन्।
'रोल नं १' मा मुकुन भुसाल, सुशांक मैनाली, निर्भिक रेग्मी, संयम कटुवाल, रेणु नाथ योगी, एवनराज उप्रेती, सुवास गजुरेल, सिर्जना अधिकारीलगायत कलाकारहरूको अभिनय छ। जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्मको निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन्।
सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। 'रोल नं १'लाई महेश दवाडीले लेखेका हुन्। डिओपी शिवराम श्रेष्ठको छ भने सम्पादक मदन घिमिरे हुन्।
निर्माता पौडेलका अनुसार यो फिल्म नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ।
फिल्म जेठ १५ गते रिलिज हुने तयारीमा छ।