अभिनेता सलिनमान बनियाँ फिल्म 'युनिभर्सिटी अफ गुण्डाज' मार्फत पर्दामा फर्किने तयारीमा छन्। यसपटक फिल्ममा उनको जोडी को हुने र उनी कस्ती हुन् भन्ने विषयमा दर्शकमाझ उत्सुकता देखिन्छ।
सान्भी इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस फिल्ममा सलिनमानले एक जापानी अभिनेत्रीसँग जोडी बाँध्दैछन्। फिल्म युनिटका अनुसार सलिनमानको जोडीका रूपमा जापानी अभिनेत्री मीना यसोदा पक्का भएकी छन्। उनलाई निर्माण टिमले फिल्मको मुख्य अभिनेत्रीका रूपमा अनुबन्ध गरिसकेको छ।
नेपाल र जापान दुवैको पारिवारिक पृष्ठभूमि (बुवा नेपाली र आमा जापानी) भएकी मीना हाल जापानमै बस्दै आएकी छन्। निर्माण पक्षले उनको बारेमा थप विवरण भने हालसम्म गोप्य राखेको छ।
केही समयअघि सार्वजनिक गरिएको फिल्मको 'फर्स्टलुक' ले राम्रो चर्चा पाएको थियो।
अभिनेता सलिनमान आफैंले लेखेको कथामा निर्माण भइरहेको फिल्मलाई निर्देशक सुरेश न्यौपानेले निर्देशन गरिरहेका छन्। फिल्ममा सलिनमान र मीनासँगै सलोन बस्नेतको पनि मुख्य भूमिका रहनेछ।
निर्माण पक्षले हालसम्म अन्य कलाकार तथा प्राविधिक टोलीको नाम सार्वजनिक गरेको छैन।
'फर्स्टलुक' सार्वजनिक गरेर दर्शकको प्रतिक्रिया बुझिसकेपछि मात्र प्रदर्शन मिति तोकिने निर्माण टिमको योजना रहेको छ।
फिल्ममा सौरभ लामाको डीओपी, मन्दिप गौतमको स्क्रिनप्ले, रोमन बज्राचार्यको ब्याकग्राउन्ड स्कोर, सम्राट बस्नेतको एक्सन निर्देशन, मनोज श्रेष्ठको भिएफएक्स, बन्दे प्रसादको सम्पादन, मुकेश शाहको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर रहनेछ।
व्यवस्थापनतर्फ प्रोडक्सन म्यानेजर सुवास काफ्ले र असिस्टेन्ट प्रोडक्सन म्यानेजर केवलमान सिंह बस्नेत छन्।