काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाने भएकी छन्।
महानगरपालिकाले आयोजना गर्न लागेको 'काठमाडौं फिल्म फेस्टिभल' को औपचारिक घोषणा तथा अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्ने उद्देश्यले उनको भ्रमण हुन लागेको हो। छोटो समयमा निर्णय लिएर भ्रमण गर्न लागेको डंगोलले बताइन्।
कार्यपालिका बैठकमा भ्रमणबारे जानकारी दिँदै डंगोलले फिल्म महोत्सवको विश्वव्यापी प्रचारप्रसार नै आफ्नो भ्रमणको मुख्य एजेन्डा रहेको बताइन्। महोत्सवको पूर्वतयारीस्वरूप महानगरपालिकाले स्थानीय स्तरमा विभिन्न कार्यक्रम गर्दैछ। जसमध्ये ‘टोल टोलमा फिल्म महोत्सव’ कार्यक्रमसमेत आयोजना गर्न लागिएको डंगोलले बताइन्।
उनका अनुसार समुदायमा आधारित कार्यक्रमअन्तर्गत फिल्म, संगीत तथा सिर्जनात्मक उद्योगसँग सम्बन्धित विविध विषयमा टोलस्तरमै छलफल गरिनेछ। यसले ‘काठमाडौं फिल्म फेस्टिभल’ का लागि सकारात्मक वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।
भ्रमण अवधिभरका लागि सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई दिएकी छन्।
मे १२ देखि सुरू 'कान्स फिल्म फेस्टिभल' मे २३ (जेठ ९) मा समापन हुनेछ।