नवीन सुब्बा निर्देशित 'नुमाफुङ' नेपाली सिनेमाको इतिहासमा केवल एउटा फिल्मका रूपमा मात्र सीमित रहेन, यसले नेपाली कथावाचनको स्वर, दृष्टि र विषयवस्तुलाई नै नयाँ दिशा दियो।
सन् २००१ मा रिलिज भएको 'नुमाफुङ' ले मौलिक नेपाली कथा प्रस्तुत गर्दै नेपाली सिनेमामा नयाँ ढोका खोल्ने काम गरेको थियो। यो लिम्बु समुदायबाट मूलधारमा आएको पहिलो सिनेमा समेत मानिन्छ।
विशेषगरी फिल्मले नेपालका मौलिक कथा र आदिवासी समुदायका जीवन, आवाज र अनुभवलाई पर्दामा ल्याएर त्यस्ता कथालाई केन्द्रमा राख्यो, जुन त्यसअघि नेपाली सिनेमामा विरलै देखिन्थे। यही कारण 'नुमाफुङ'लाई नेपाली सिनेमामा प्रतिनिधित्व र पहिचानको बहस सुरू गराउने महत्वपूर्ण कृतिका रूपमा समेत हेरिन्छ।
फिल्मले नेपाली कथावाचनलाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवसम्म पुर्याउन पनि महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। यसले नेपाली कथाहरू विश्वमञ्चमा प्रस्तुत हुनसक्ने सामथ्र्य राख्छन् भन्ने प्रमाणित गर्यो।
आज पनि कतिपय सन्दर्भमा यो फिल्मको चर्चा हुने गर्छ।
'नुमाफुङ' प्रदर्शन भएको २५ वर्ष पूरा भएको अवसरमा निर्माण कम्पनी मेन्छ्यायेम पिक्चर्सले पनि फिल्मको विरासत स्मरण गरेको छ।
रजत जयन्तीको अवसरमा 'नुमाफुङ'लाई केवल विगतको सम्झनाका रूपमा नभई आज पनि दर्शकको मनमा जीवित रहेको सांस्कृतिक दस्तावेजका रूपमा स्मरण गरिएको छ।
यस अवसरमा मेन्छ्यायेम पिक्चर्सले फिल्मका निर्देशक, कलाकार, प्राविधिक टोली तथा 'नुमाफुङ'लाई सुरूदेखि नै साथ दिँदै यसको विरासतलाई आजसम्म जीवित राख्ने सम्पूर्ण दर्शकप्रति आभार व्यक्त गरेको छ।
'नुमाफुङ' मा प्रेम सुब्बा, अनुपमा सुब्बा, निवाहङ्मा लिम्बु, आलोक नेम्वाङ, रमेश सिंहकलगायत कलाकारहरूको अभिनय छ।
युट्युबमा हेर्नुस् पूरा फिल्मः-