भौगोलिक अन्वेषण र सांस्कृतिक अध्ययनलाई निरन्तरता दिँदै ‘स्रष्टा पदयात्रा नेपाल’ ले आफ्नो १०६औं शृंखला सिन्धुलीको भिमानमा सम्पन्न गरेको छ।
शहीद रघुनाथ कोइराला ट्रस्टको निमन्त्रणमा २९ जना लेखक,साहित्यकार तथा पत्रकारहरूको प्रबुद्ध टोली जेठ १ गते त्यसतर्फ प्रस्थान गरेका थिए।
पदयात्री टोलीले भिमान क्षेत्रको चौतर्फी विकास, सहिद रघुनाथ कोइरालाको ऐतिहासिक योगदानको स्मरण र स्थानीय रैथाने संस्कृतिको सम्वर्द्धनका लागि ऐक्यबद्धता व्यक्त गरेको छ।
पानसमा दीप प्रज्वलित गरी सहिदप्रति एक मिनेट मौनधारण गरी कार्यक्रम सुरू गरिएको थियो।
कमलामाई नगरपालिका वडा नम्बर १० गौरनटोलस्थित चौतारामा आयोजित कार्यक्रममा ट्रस्टकी संरक्षक तथा सहिद रघुनाथ कोइराला पत्नी कालिकादेवी कोइरालाको अध्यक्षता, पूर्वप्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेको प्रमुख आतिथ्य स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरी, कमलामाई नपा १० का वडाध्यक्ष दीपबहादुर कार्की, वडा नं ९ का विनोद प्रधान सामाजिक अभियन्ता सुवास देवकोटा, सोमबहादुर हायु लगायत उल्लेखनीय मात्रामा साहित्यानुरागी र स्थानीयको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो।
सो अवसरमा अनिता कोइरालाद्वारा लिखित उज्यालो औंसीका बारेमा समीक्षात्मक टिप्पणी राख्दै साहित्यकार भारती न्यौपानेले गौरनटोलमा उपस्थित भइरहँदा 'उज्यालो औंसी' का पात्रहरूलाई आफैले भेटिरहेको आभास भइरहेको बताइन्।
उनले औंसीले अन्धकारलाई जनाए पनि जीवनका पीडा र कठिनाइहरूलाई चिर्दै उज्यालो भविष्यतर्फ अघि बढ्न प्रेरणा दिने यस उपन्यासको सजीव कथावस्तुले जीवनमा गहिरो र सार्थक प्रभाव पारेको उल्लेख गरिन्।
सोही अवसरमा अर्का समीक्षक डा. हेम भण्डारीले 'उज्यालो औंसी' का विविध पक्षमाथि समाजशास्त्रीय विश्लेषण गरे।
उपन्यासभित्रका नायक रघु र खलनायकका रूपमा चित्रित रङ्गनाथको समाजलाई बुझ्ने भिन्न दृष्टिकोण र उनीहरूबीचको 'वर्चश्वको लडाइँ' ले गर्दा नै रघुको हत्या भएको रोचक तथा मार्मिक प्रसंगलाई कलात्मक रूपमा प्रस्तुत गरे।
भण्डारीले समाजमा व्याप्त कुसंस्कार र असमानताका बीच चेतनाको राँको बाल्न उत्प्रेरित गर्ने यस सुन्दर कृतिका लागि सर्जक कोइरालालाई बधाई दिए।
कार्यक्रममा सिन्धुलीको ऐतिहासिक पृष्ठभूमि, कृषि र पर्यटनको सम्भावना, हायु समुदायको रैथाने संस्कृति र सहिद रघुनाथ कोइरालाको सामाजिक योगदानबारे केन्द्रित रहँदै विशेष विचारगोष्ठी तथा रचना वाचन कार्यक्रम सम्पन्न गरिएको थियो।
कार्यक्रममा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्व, राजनीतिक विश्लेषक, स्रष्टा तथा स्थानीय प्रतिनिधिहरूले जिल्लाको समग्र विकासका लागि आ-आफ्नो धारणा राखेका थिए।