फिल्म 'जलाकी'को इन्डक्ल्याप गरिएको छ।
पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य छायांकन गर्दै ३९ दिनमा फिल्मको सुटिङ सम्पन्न भएको निर्माण टिमले जनाएको छ। छायांकन सकिएसँगै पोस्ट–प्रोडक्सनको काम सुरू गरिएको निर्देशक अशोक थापा मगरले जानकारी दिए।
उनका अनुसार केही दिनभित्रै फिल्मको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्ने तयारी भइरहेको छ।
फिल्मको मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी रहेकी छन्। निर्देशक अशोकसँग उनले 'खुस्मा'पछि दोस्रो पटक सहकार्य गरेकी हुन्। ‘खुस्मा’बाट उपासनाले उत्कृष्ट अभिनेत्री विधामा राष्ट्रिय चलचित्र पुरस्कारसमेत जितेकी थिइन्। ‘जलाकी’लाई लिएर पनि उपासना उत्साहित देखिएकी छन्।
त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा उपासनासहित सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरूङ, बुद्धिमान तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बु, राजु रेग्मी मगर, उषा खड्गी, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, भावना मगर र राज काउचा मगरको अभिनय छ। विशेष भूमिकामा क्याप्टेन विजय लामा देखिनेछन् भने बाल कलाकारका रूपमा मुन्जन थापा मगर, नुलुम्मा वान्तवा राई र रिन्ची धनाहा मगर रहेका छन्। यसै फिल्ममार्फत मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली रजतपटमा डेब्यु गरेकी हुन्।
'जलाकी' मगर समुदायको आस्थाको प्रतीकका रूपमा मानिने ढुंगाले चिनिएको स्तम्भलाई बुझाउने शब्द हो। कसैको सम्झना र मायाको प्रतीकस्वरूप जलाकी बनाउने परम्परा छ। यही कथावस्तुमा आधारित भएर फिल्म निर्माण गरिएको जनाइएको छ।
रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ र पोखराका विभिन्न भू–भागमा छायांकन गरिएको सिनेमाले मगर र गुरूङ समुदायको संस्कृति झल्काउने निर्माण टिमको विश्वास छ। एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी रहेका छन्।
फिल्म डीओपीमा शैलेन्द्र डी. कार्की, लाइन प्रोड्युसरमा राजु रेग्मी मगर तथा मुख्य सहायक निर्देशकमा महेश बराल रहेका छन्। फिल्ममा एसडी योगी र सरित राईको संगीत रहेको छ भने गीत रचनामा सुरेन्द्र राना, हर्क साउद र राम अविरल विष्ट रहेका छन्।
निर्देशक अशोक थापा मगरको डेब्यु निर्देशकीय फिल्म 'खुस्मा'मा समावेश गीत 'रुकुम मैकोट'ले युट्युबमा पाँच महिनामै १० करोड भ्युज प्राप्त गर्दै ऐतिहासिक रेकर्ड कायम गरेको थियो। निर्माण टिम 'जलाकी'लाई लिएर पनि उत्साहित देखिएको छ।