अभिनेता विपिन कार्कीले फिल्म 'काजी' आफूले यसअघि नगरेको फरक शैलीको प्रेमकथामा आधारित रहेको बताएका छन्। सुरूमा कथा अर्कै भए पनि पछि टिम परिवर्तन भई नयाँ कथासहित आफूलाई पुनः प्रस्ताव गरिएको उनले बताए।
यही शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्मको प्रचारप्रसारमा रहेका विपिनले भने, 'पहिले हामी अर्को कथामा ‘काजी’को कामलाई अगाडि बढाउने सहमतिमा थियौं। पछि टिम फेरिएर आयो र कथा परिवर्तन गरियो। अहिले बनेको कथा फरक स्वादको छ, जुन मलाई पनि निकै मन पर्यो।'
विपिनका अनुसार 'काजी' ले प्रेमलाई केवल ठूला संवाद वा भावनात्मक अभिव्यक्तिमा मात्र नभई दैनिक जीवनका साना व्यवहार र सम्बन्धभित्र खोजेको छ। उनले भने, 'साना-साना कुरामा पनि प्रेम प्रकट हुन्छ। श्रीमतीको खुसीमा आफ्नो खुसी खोज्ने, एकअर्काका लागि त्याग गर्ने यस्ता सूक्ष्म भावनालाई 'काजी'ले निकै सुन्दर ढंगले प्रस्तुत गरेको छ।'
उनले आफू पनि वैवाहिक जीवन बाँचिरहेकाले पात्रसँग नजिक महसुस गरेको बताए।
'म आफैं पनि एउटा श्रीमान् हुँ। त्यसैले यो पात्रका भावनाहरू मैले जीवनमै अनुभव गरिरहेको छु। अन्य केही फिल्ममा जस्तो धेरै तयारी गर्नुपरेन,' उनले भने।
फिल्मको टाइमफ्रेम २०५० सालअघिको रहेको र आफूले निभाएको पात्र 'काजी खानदान' को विरासत बोकेको युवक भएको उनले बताए।
प्रेममा डुबेको, बाहिरी संसारसँग खास सरोकार नराख्ने पात्र भएकाले यो भूमिका आफूका लागि नयाँ र चुनौतीपूर्ण अनुभव भएको उनको भनाइ छ।
विपिनले फिल्मलाई घर-घरको कथा भएको उल्लेख गर्दै दर्शकले आफूलाई पात्रहरूसँग जोड्न सक्ने विश्वास व्यक्त गरे।
उनले भने, 'यो घर-घरको कथा हो। दर्शकले आफूलाई पात्रहरूसँग जोड्न सक्नुहुन्छ।'
लक्ष्मण रिजालको निर्देशनमा तयार भएको फिल्म 'काजी' मा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्टलगायत कलाकारहरूको अभिनय छ।
फिल्ममा प्रदीप भारद्वाजको कथा, कालीप्रसाद बास्कोटाको संगीत, चिन्तन राजभण्डारीको छायांकन र विपीन मल्लको सम्पादन छ। निर्मातामा रामप्रसाद रिजाल, नेहान रिजाल, विकास राज जोशी छन्।
'काजी' लाई श्रीराम बालाजी फिल्मस्ले वितरण गर्नेछ।