प्रदर्शन तयारीमा रहेको फिल्म 'रोल नं १'ले दर्शकका लागि नयाँ अफर ल्याएको छ।
फिल्मको निर्माण टिमले 'गेट चान्स टु विन क्यास प्राइज' स्किम अघि सारेको हो।
टिमले 'म, साथी, शिक्षक र मेरो स्कुलको कथा' भिडिओ प्रतियोगितामार्फत नगद पुरस्कार जित्ने अवसर प्रदान गरेको छ। प्रतियोगितामा सहभागीहरूले फिल्मसँग जोडिएर आफ्नो स्कुल जीवनको अविस्मरणीय कथा भिडिओमार्फत प्रस्तुत गर्नुपर्नेछ।
प्रतिस्पर्धामा सहभागी हुनेले आफ्नो परिचय अनिवार्य रूपमा दिनुपर्नेछ, जसमा नाम, विद्यालयको नाम र ठेगाना उल्लेख गर्नुपर्नेछ । कथामा आफ्ना वास्तविक स्कुल जीवनका अनुभव समेटिनुपर्नेछ।
कथामा शिक्षकको प्रेरणा, साथीभाइको साथ, पढाइको महत्व, गरिबी वा चुनौती, स्कुलको रमाइलो सम्झना, सपना र लक्ष्य तथा संघर्ष र मेहनतलगायत विषय समेट्न सकिनेछ।
भिडिओ छोटो, स्पष्ट र भावनात्मक हुनुपर्नेछ। प्रतियोगिताका लागि भिडियो १ देखि ३ मिनेटसम्मको हुनुपर्नेछ र सिर्जनात्मक प्रस्तुति तथा स्पष्ट आवाज अनिवार्य गरिएको छ। सबै उमेर समूहका व्यक्तिहरूले सहभागिता जनाउन सक्नेछन्। भिडिओ टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत पोस्ट गर्न सकिनेछ।
भिडियो पोस्ट गर्दा फेसबुक वा टिकटकमा सम्बन्धित आधिकारिक पेजलाई ट्याग गर्नुपर्नेछ। साथै, तोकिएका ह्यासट्यागहरू प्रयोग गर्नु अनिवार्य गरिएको छ। प्रतियोगीतामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, २० जना सान्त्वना विजेताले 'रोल नं १' फिल्मको एक-एक टिकट प्राप्त गर्नेछन्। विजेता घोषणा जेठ २५ गते गरिनेछ।
विनोद पौडेलको निर्माण रहेको फिल्म 'रोल नं १'ले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ। जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। बाल-कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन्।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। 'रोल नं १'लाई महेश दवाडीले लेखेका हुन्। फिल्मको डीओपी शिवराम श्रेष्ठ रहेका छन् भने सम्पादक मदन घिमिरे हुन्।
निर्माता पौडेलका अनुसार यो फिल्म नेपालका साथै विदेशमा पनि जेठ १५ गतेदेखि एकसाथ प्रदर्शन हुनेछ।