चलचित्र पत्रकार संघ नेपालले विभिन्न चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।
संघको २७ औं वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसका अवसरमा चलचित्र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउनेहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान-२०८३ अन्तर्गत ५५ हजार ५ सय ५५ रूपैयाँ राशिसहित अनन्त वाग्लेलाई सम्मान गरिएको थियो। त्यस्तै, राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८३ जयन सुब्बा मानन्धर र कुबेरराज गिरीलाई प्रदान गरियो।
यसैगरी, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार-२०८३ अन्तर्गत ५१ हजार रूपैयाँ राशिसहित वैकुण्ठराज पराजुली पुरस्कृत भए भने स्वर्गीय दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार-२०८३ अन्तर्गत ५१ हजार रूपैयाँ राशिसहित सुरक्षा भट्टराई सम्मानित भइन्।
राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान-२०८३ अन्तर्गत २५ हजार रूपैयाँ राशिसहित मिलन ढुंगानालाई सम्मान गरिएको थियो। कार्यक्रममा स्वर्गीय दिनेश सिटौलाप्रति मरणोपरान्त विशेष सम्मान अर्पण गरिएको थियो।
चलचित्र पत्रकार संघ नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा चलचित्र क्षेत्रका कलाकार, पत्रकार, निर्माता, निर्देशक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। पञ्चेबाजासहित अतिथि तथा सम्मानित व्यक्तित्वहरूको स्वागत गरिएको कार्यक्रममा सांस्कृतिक तथा सांगीतिक प्रस्तुतीले विशेष आकर्षण थपेको थियो।
कार्यक्रमका प्रमुख अतिथि दिनेश डीसीले नेपाली चलचित्र पत्रकारिता क्रमशः संगठित र व्यवस्थित हुँदै गएको उल्लेख गर्दै चलचित्र प्रवद्र्धनमा पत्रकारिताको भूमिका अतुलनीय रहेको बताए। उनले पत्रकारितामा अनुशासन, मर्यादा र नैतिकतालाई थप सुदृढ बनाउन आवश्यक रहेको धारणा राख्दै आधारहीन विषयलाई प्राथमिकता दिने प्रवृत्तिबाट जोगिन आग्रह गरे।
विशेष अतिथि अभिनेता राजेश हमालले चलचित्र र पत्रकारिता क्षेत्रबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै समयसँगै दुवै क्षेत्रले उल्लेखनीय विकास गरेको बताए। वर्तमान ‘क्लिक कल्चर’ र प्रविधिका चुनौतीबीच तथ्यपरक, जिम्मेवार र गम्भीर पत्रकारिताको आवश्यकता अझ बढेको उनले धारणा राखे।
अभिनेत्री करिष्मा मानन्धरले चलचित्र र पत्रकारिता क्षेत्र एकअर्काका परिपूरक भएको बताउँदै चलचित्रलाई दर्शकमाझ पुर्याउने मुख्य माध्यम पत्रकारिता नै रहेको उल्लेख गरे। कलाकार र पत्रकारबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने उनको भनाइ थियो।
कार्यक्रमका अध्यक्ष समीर बलामीले चलचित्र पत्रकारितालाई अझ संगठित, मर्यादित र जिम्मेवार बनाउँदै लैजानुपर्नेमा जोड दिँदै संघलाई थप सशक्त र क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरे।
यस अवसरमा संस्थापक अध्यक्ष भरत शाक्यसहित संस्थापकहरूप्रति सम्मान तथा स्मरण व्यक्त गरिएको थियो भने निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।