फ्राइडे रिलिज अन्तर्गत यो साता दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्।
शुक्रबारदेखि 'मितज्यू' र 'काजी' देशभरका सिनेमा हलमा रिलिज भएका हुन्।
अनिल बुढामगर निर्देशित 'मितज्यू' मा दयाहाङ राई, सौगात मल्ल र टेरिया मगर मुख्य अभिनयमा छन्। यसको कथा समाजको पुरानो मितेरी सम्बन्ध वरिपरि घुम्ने बताइएको छ। दुई गाउँले चालक साथी, जसको गहिरो ‘मितेरी’ सम्बन्ध सडक खुलेपछि प्रतिस्पर्धामा बदलिन्छ। फिल्मले मित्रता, द्वन्द्व र ग्रामीण जीवनको भावनात्मक कथा देखाउँछ। टेरियाले ‘मितज्यू’ मार्फत नेपाली फिल्ममा डेब्यु गरेकी हुन्।
यस फिल्मको निर्माता जनक घर्ती मगर हुन्।
फिल्ममा शिशिर बाङ्देल, पुस्कर गुरूङ, सुवर्ण थापा, राज थापा, अनु थापा, अरूण पुन मगर, स्मिता लामिछाने, पवित्रा खड्का, खड्ग बहादुर पुन मगरलगायत कलाकारहरूको समेत हेर्न सकिनेछ।
त्यस्तै, लक्ष्मण रिजाल निर्देशित 'काजी' मा विपिन कार्की र केकी अधिकारी शीर्ष भूमिकामा छन्। प्रेमकथामा आधारित यो फिल्ममा नव-विवाहित जोडीको कथा प्रस्तुत गरिएको छ।
फिल्ममा विपिन र केकीसहित गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दिप बाबु लोहनी, विनोद न्यौपाने, रश्मी भट्टलगायत कलाकारहरूको पनि अभिनय छ।
'काजी’' को निर्माता रामप्रसाद रिजाल, नेहान रिजाल र विकास राज जोशी हुन्।
यसअघि रिलिज 'लालीबजार'सहितका नेपाली फिल्महरू समेत सिनेमा हलमा प्रदर्शनरत छन्।