'तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३'को अवार्ड समारोहमा 'ऊनको स्वीटर' ले उत्कृष्ट चलचित्रसहित सर्वाधिक अवार्ड जितेको छ।
काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा शनिबार आयोजित समारोहमा चलचित्रका निर्देशक नवीन चौहान उत्कृष्ट निर्देशक तथा अभिनेता विपिन कार्की उत्कृष्ट अभिनेता घोषित भए। त्यस्तै, 'जेरी अनटप'बाट जसिता गुरूङ उत्कृष्ट अभिनेत्री घोषित भइन् भने अभिनेता पल शाह लाई 'सोसियल आइकन एक्टर अवार्ड' प्रदान गरियो।
उत्कृष्ट सर्ट फिल्मको अवार्ड मुगुको फ्लाइङ फिदर फिल्म्सद्वारा निर्मित 'ह्याप्पिनेस'ले जित्यो। साथै, निर्माता सन्तोष सेनलाई 'कर्णाली भिजनरी अवार्ड'बाट सम्मान गरिएको थियो।
त्यस्तै, कर्णाली एडिसन अवार्ड (निर्देशक) राज बहादुर सानेले प्राप्त गर्दा उदीयमान चलचित्र निर्माता तथा वितरकको अवार्ड आशिष तामाङले प्राप्त गरेका छन्।
अवार्डपछि अभिनेत्री जसिता गुरूङले सम्मान सम्पूर्ण दर्शकप्रति समर्पित गरिन्। अभिनेता पल शाहले उक्त सम्मानले आफूलाई थप जिम्मेवार बनाएको प्रतिक्रिया दिए। पहिलो चलचित्रबाटै उत्कृष्ट निर्देशकको अवार्ड जितेका नवीन चौहानले आयोजकप्रति धन्यवाद व्यक्त गरे।
महोत्सवका सल्लाहकार तथा पूर्व रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लको अध्यक्षतामा सम्पन्न समारोहको प्रमुख आकर्षण 'इतिहासलाई फर्केर हेर्दा – पहिलो चलचित्र अवार्ड संवाद' रहेको थियो। वि.सं. २०४२ सालमा भारतीय अभिनेत्री शबाना आजमीलाई नेपाल बोलाएर पहिलो पटक ‘नेपाल चलचित्र अवार्ड’ आयोजना गरेका वरिष्ठ कलाकार नरेन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा उक्त संवाद सम्पन्न भएको थियो।
वरिष्ठ निर्देशक तथा नेपाली चलचित्रका इतिहासकार प्रकाश सायमीले सहजीकरण गरेको सो अन्तरक्रियामा वरिष्ठ अभिनेता शिव श्रेष्ठ र वरिष्ठ अभिनेत्री शर्मिला मल्लले आफ्नो गौरवमय अनुभव साटेका थिए। समारोहमा वरिष्ठ कलाकार शिव श्रेष्ठ र महोत्सवकी संरक्षक तथा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
समारोहमा कृष्ण मल्ल, रेखा थापा, सुरक्षा पन्तलगायत चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो।
महोत्सव निर्देशक चक्र बहादुर चन्दले कर्णालीको कला, संस्कृति र पर्यटनलाई चलचित्रमार्फत विश्वसामु चिनाउनु महोत्सवको मुख्य उद्देश्य रहेको बताए। यस वर्षको महोत्सव वैशाख १२ गते सुर्खेतबाट सुरू भएको थियो।