नेपालको चलचित्र इतिहाससँग गहिरो रूपमा जोडिएको पुरानो र ऐतिहासिक चलचित्र हल जय नेपाल फेरि नयाँ स्वरूपमा सञ्चालनमा आएको छ।
राणाकालदेखि नै अस्तित्वमा रहेको यो हल केही वर्ष बन्द अवस्थामा रहेपछि नयाँ पुस्ताका युवाहरूको पहलमा आधुनिक प्रविधिसहित पुनः सञ्चालनमा ल्याइएको हो।
वि.सं. २००९ सालतिर स्थापना भएको भनिने यो हल नेपाली चलचित्र संस्कृतिको एउटा महत्वपूर्ण प्रतीक मानिन्छ। काठमाडौं हात्तिसारमा रहेको हल दरबारमार्ग र नारायणहिटी संग्रहालय नजिकै पर्छ।
समयक्रमसँगै बन्द हुँदै गएको हल कोभिडपछिका वर्षहरूमा त झन् खण्डहरजस्तै बनेको थियो। तर पुरानो इतिहास र सांस्कृतिक विरासत जोगाउनुपर्छ भन्ने सोचका साथ पुनःनिर्माण गरिएको जय नेपाल हलका निर्देशक संजय श्रेष्ठले बताए। श्रेष्ठका अनुसार अहिले हललाई आधुनिक सुविधासहित नयाँ स्वरूप दिइएको छ, जहाँ पुरानो इतिहास र नयाँ प्रविधिको सुन्दर संगम देख्न सकिन्छ।
हलका अर्का सञ्चालक हरिकृष्ण श्रेष्ठले जय नेपाल केवल चलचित्र हेर्ने ठाउँ मात्र नभई नेपाली समाजको सम्झना र इतिहास बोकेको धरोहर रहेकाले यसको संरक्षण र प्रवर्द्धन गरिएको बताए।
पहिलेको 'स्पेशल' र 'बाल्कोनी' संस्कृतिलाई अहिले 'गोल्ड' र 'प्लाटिनम' सिटमार्फत नयाँ पुस्तामाझ पुनर्जीवित गरिएको उनले बताए। दुई तले संरचना भएको यो हल अब नेपालमै दुर्लभ भएको संचालक संजय श्रेष्ठको दाबी छ।
नयाँ साउण्ड सिस्टम, सहज पार्किङ, भुइँतलामै रहेको सुरक्षित संरचना र आरामदायी वातावरणले जय नेपाललाई आधुनिक दर्शकका लागि आकर्षक बनाएको छ।
युरोपबाट ल्याइएको अत्याधुनिक साउण्ड सिस्टम जडान गरिएको यो हलमा चलचित्र हेर्दा दर्शकले वास्तविक सिनेमाघरको अनुभूति पाउने सञ्चालकको दाबी छ।
हलभित्र नेपाली उत्पादनलाई प्राथमिकता दिँदै स्थानीय ब्रान्डको आइसक्रिमसमेत राखिएको छ, जसले नेपाली उत्पादन र किसानलाई पनि सहयोग पुर्याउने विश्वास लिइएको छ।
७५ वर्षभन्दा पुरानो इतिहास बोकेको यो हलमा कहिल्यै नआएका नयाँ पुस्ताका युवालाई पनि यहाँ आएर पुरानो समयको सिनेमाघर कस्तो थियो भन्ने अनुभव लिन सञ्चालकहरूले आग्रह गरेका छन्।
पुरानो पुस्ताको सम्झना र नयाँ पुस्ताको प्रविधि जोडिएको 'जय नेपाल' अब फेरि नेपाली चलचित्र संस्कृतिको जीवित इतिहास बनेर आएको छ।
-1779602850.jpg)
-1779602850.jpg)
-1779602850.jpg)
-1779602850.jpg)
-1779602849.jpg)
-1779602849.jpg)
-1779602849.jpg)
-1779602849.jpg)
-1779602849.jpg)
-1779602850.jpg)