प्रदर्शन तयारीमा रहेको फिल्म 'रोल नं १'को नयाँ गीत 'मेरो लागि तिमी' सार्वजनिक गरिएको छ।
भावनात्मक शैलीमा तयार पारिएको यो गीत सिभेन सिज सिनेमाको युट्युबबाट सार्वजनिक गरिएको हो।
गीतमा स्वर, संगीत र शब्द प्रशान्त शिवाकोटीको छ। सन्तानका लागि आमाबुबा र आमाबुबाका लागि सन्तान कति महत्वपूर्ण छन् भन्ने गीतमा देखाएको छ। आफ्नो भाग्य समेत नकोरी सन्तानका लागि त्याग र संघर्ष गर्ने आमाबुबाको महानता तथा मायालाई केन्द्रमा राखेको गीतले सिनेमाको सेन्ट्रल पोइन्ट के हो भन्ने बताएको छ।
सन्तानको खुुसी र उज्वल भविष्यका लागि जस्तो सुकै हन्डर र दुःख सहन तयार अभिभावकलाई केन्द्रमा राखेर तयार भएको गीतले फिल्मले दर्शकलाई के देखाउँदैछ भनेर संकेत गरेको छ। गीतले यो फिल्मले आम नेपाली ग्रामीण समुदायका गरिब परिवारको कथा भन्ने संकेत गर्छ।
गीतको भिडिओमा फिल्मका मुख्य कलाकार फिचर्ड छन्।
विनोद पौडेलको निर्माण रहेको फिल्मले विद्यार्थीको मनोविज्ञानको कथा भन्ने निर्माणपक्षले बताएको छ। अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा फिल्ममा समेटेको बताइएको छ।
जोन योञ्जनको निर्देशनमा तयार फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। फिल्मको बाल-कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ छन्।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। 'रोल नं १'लाई महेश दवाडीले लेखेका हुन् भने शिवराम श्रेष्ठको डीओपी, मदन घिमिरेको सम्पादन छ।
निर्माता पौडेलका अनुसार यो फिल्म नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ। फिल्म जेठ १५ गतेदेखि प्रदर्शन तयारीमा छ।
रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले फिल्मलाई वितरण गर्दैछन्।
भिडिओः