'काठमाडौं कलिंगा साहित्य महोत्सव (केएलएफ)' को चौथो संस्करण जेठ २३ र २४ (जुन ६-७) मा हुने भएको छ।
'सीमाभन्दा परः परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य' भन्ने मूल थिमसहित रहेको दुईदिने महोत्सव ललितपुरस्थित होटल हिमालयमा आयोजना हुने भएको हो।
आयोजकद्वारा जारी विज्ञप्तिअनुसार महोत्सवमा दक्षिण एसियाका दर्जनौं चर्चित लेखक, कलाकार, चलचित्रकर्मी, संगीतकार, कूटनीतिज्ञ तथा बुद्धिजीवीहरूको सहभागिता रहनेछ।
महोत्सवका संस्थापक निर्देशक तथा क्युरेटर रश्मि रञ्जन परिडाले जानकारी दिँदै यस संस्करणमा प्यानल छलफल, मुख्य वक्तव्य, कविता वाचन, सांगीतिक प्रस्तुति, लेखकसँग अन्तरक्रिया, पुस्तक विमोचन, कार्यशाला, सांस्कृतिक साँझ तथा अन्तरदेशीय साहित्यिक सहकार्यका कार्यक्रमहरू समावेश गरिने बताए।
यस संस्करणमा चर्चित गायिका ईला अरुण, लेखक प्रतिभा राय, चर्चित अभिनेता, गीतकार तथा लेखक पियुष मिश्रा, लेखक एवं चलचित्रकर्मी राज शेखर, आध्यात्मिक व्यक्तित्व आचार्य प्रशान्तलगायत सहभागी हुनेछन्।
त्यस्तै, विकास स्वरूप, परमिता सत्पथी, उपेन्द्रनाथ बेहरा, बद्री नारायण, नीना वर्मा, अर्चना सिंह, जय प्रकाश पाण्डे, कुलाधर सैकिया, मालिनी अवस्थी, नारायणी बसु, सतीश पद्मनाभन, यतीन्द्र मिश्र, सन्दीप सिंह, विक्रम सम्पथ, अनन्त विजय, यतीश कुमार, बुद्धिसागर, आशुतोष अग्निहोत्री, सुजीत कुमार, युनुस खानसमेतले पनि महोत्सवमा सहभागिता जनाउनेछन्।
निर्देशक परिडाका अनुसार महोत्सवमा दक्षिण एसियाली साहित्य, कला र बौद्धिक परम्पराले आजको विश्व परिवेशमा परिवर्तन, सांस्कृतिक परिवर्तन, पहिचान, समावेशिता, अध्यात्म तथा सामाजिक परिवर्तनसँग कसरी संवाद गरिरहेका छन् भन्ने विषयमा छलफल हुनेछ।
उनले भने, 'चौथो काठमाडौं कलिंगा साहित्य महोत्सवले साहित्य, संगीत, कविता, सिनेमा, नृत्य तथा विविध कलात्मक परम्पराको उत्सव मनाउनेछ। यसले नेपाल, भारत र दक्षिण एसियाली देशहरूबीचको पुरानो सांस्कृतिक तथा साहित्यिक सम्बन्धलाई अझ सुदृढ बनाउनेछ।'
यो महोत्सव यशस्वी प्रज्ञान प्रतिष्ठानको सहकार्यमा आयोजना हुन लागेको हो। महोत्सवकी निर्देशक रञ्जना निरौलाले भनिन्, 'यस वर्षको विषयले पहिचान, बसाइँसराइ, समावेशिता, अध्यात्म, वातावरण र सामाजिक सहभागिताजस्ता विश्वव्यापी विषयमा दक्षिण एसियाली साहित्य र सांस्कृतिक परम्पराको बढ्दो महत्वलाई झल्काउँछ।'
महोत्सवमा 'गीत सुन्ने कि हेर्ने?' शीर्षकमा बहस हुनेछ, जसमा गीतकारहरू हर्क साउद, रमण घिमिरे र गैरे सुरेश वत्ताको रूपमा रहनेछन्।
त्यसैगरी, 'नेपाली काव्यको वैशिक स्वर' शीर्षकमा श्रवण मुकारूङ, डा.अस्मिता बादी र डा.निरज भट्टराईले अन्तक्रिया गर्नेछन्।
त्यस्तै, महोत्सवमा 'समाज, सभ्यता र संस्कृति', 'रातो पृथ्वी/तातो पृथ्वी', 'नारी लेखनः समानता र स्वतन्त्रता', 'देशभन्दा टाढा/स्मृतिभन्दा नजिक’, 'विद्धावारिणी आवश्यकता कि चुनौती', 'महोत्सवका चुनौतीहरु', 'नेपाल भारत सिनेमा' लगायतका दुई दर्जन विषयमा अन्तक्र्रिया कार्यक्रम चल्नेछन्। साथै कविता तथा गजल वाचन कार्यक्रमसमेत रहनेछ।
ओडिशास्थित भुवनेश्वरमा आधारित कलिंगा साहित्य महोत्सव भारतको प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक महोत्सवहरूमध्ये एक मानिन्छ। यस संस्थाले केएलएफ बुक अवाड्र्स, कलिंगा साहित्य महोत्सव इन्द्रप्रस्थ तथा मिस्टिक कलिंगा समेत आयोजना गर्दै आएको छ। सन् २०२२ देखि केएलएफले नेपाल, भारत तथा दक्षिण एसियाली देशहरूबीच साहित्यिक, सांस्कृतिक र बौद्धिक आदानप्रदानलाई केन्द्रमा राख्दै कार्यक्रम सञ्चालन गर्दै आएको हो।
पछिल्ला वर्षहरूमा यो महोत्सव लेखक, चिन्तक, कलाकार, विद्वान, चलचित्रकर्मी, संगीतकार, कूटनीतिज्ञ तथा बुद्धिजीवीहरूबीच संवादको महत्वपूर्ण मञ्चका रूपमा स्थापित भएको छ।
विभिन्न देशका स्थापित तथा नयाँ प्रतिभा, प्राध्यापक, अनुवादक, प्रकाशक, कलाकार तथा साहित्यप्रेमीहरूलाई एकै ठाउँमा ल्याउने यस महोत्सवको उद्देश्य रहेको आयोजकले जनाएका छन्।