निर्देशक बलिराम चौहानले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। गतवर्ष 'द ब्ल्यू लाइट' निर्देशन गरेका चौहानले फिल्म 'ल्याङ ल्याङ' बनाउने भएका हुन्।
उनले थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरेका हुन्।
स्काइफल पिक्चर्सको प्रस्तुति रहने फिल्मको स्लोगन 'हरेक युवाको कथा' राखिएको छ। यसले फिल्मले युवा पुस्ताको कथा भन्ने प्रस्ट पार्छ। 'ल्याङ ल्याङ' सामान्यतया युवा पुस्ताले आफ्नो साथी सर्कलमा प्रयोग गर्ने शब्द हो। यसको अर्थ 'किचकिच' अथवा एउटै कुरामा पटकपटक कर गर्ने वा दोहोर्याएर दिने तनावलाई लिइन्छ।
निर्देशक चौहानले सार्वजनिक गरेको थिम पोस्टरले प्रेममा धोका पाएको प्रेमीको पीडा र तनावको कथा संकेत गर्छ।
'ल्याङ ल्याङ'को कथा बलिराम चौहान र उपश्री खतिवडाले लेखेका हुन्। कलाकार, प्राविधिक, छायांकन, रिलिज मितिबारे खुलाइएको छैन।