प्रदर्शनरत फिल्म 'काजी' को असारे गीत सार्वजनिक गरिएको छ। प्रशान्त सिवाकोटीको शब्द तथा संगीत निर्देशनमा तयार पारिएको असारे भाका 'ज्यानको तिर्खा'मा रचना रिमाल र संगीतकार सिवाकोटी स्वयंको स्वर सुन्न सकिन्छ।
भिडिओमा फिल्ममा मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, सन्दीप बाबु लोहनीलगायत कलाकारहरूलाई देख्न सकिन्छ। रोपाइँको सेटअपमा तयार पारिएको भिडिओमा कविराज गहतराजको कोरियोग्राफी छ।
लक्ष्मण रिजालले निर्देशन रहेको फिल्म ‘काजी’ ले ग्रामीण परिवेशको भावनात्मक कथा र सम्बन्धको संवेदनशील पक्षलाई पर्दामा उतारेको निर्माण टिमको दाबी छ।
रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको 'काजी' को प्रस्तुतकर्ता राम प्रसाद रिजाल हुन्।
असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा नेहान रिजाल, विकाशराज जोशी रहेका छन्। फिल्ममा प्रदीप भारद्धाजको कथा लेखन, चिन्तन राजभण्डारीको छायांकन, विपीन मल्लको सम्पादन छ।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको 'काजी'ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। यद्यपि फिल्मको व्यापार भने सुखद् देखिँदैन।