अभिनेत्री वर्षा शिवाकोटीले फिल्म 'गंगा रानी' साइन गरेकी छन्। निर्माण टिमले उनलाई औपचारिक रूपमा स्वागत गर्दै एक पोस्टर सार्वजनिक गरेको छ।
सार्वजनिक पोस्टरमा रातो पहिरनमा प्रस्तुत वर्षा शिवाकोटी आत्मविश्वासी र आकर्षक अवतारमा देखिएकी छन्। उनको हेराइ र अभिव्यक्तिले फिल्मभित्र प्रेम, रहस्य र संघर्षको संकेत गर्छ। पोस्टरको अगाडि एक युवकको कालो छायाँ पनि देखाइएको छ, जसले कथामा गहिरो रहस्य वा भावनात्मक सम्बन्ध रहेको अनुमान गर्न सकिन्छ। तर उक्त पात्र को हुन् भन्ने खुलाइएको छैन।
पोस्टरको पृष्ठभूमिमा पुराना घरहरू र बस्तीको परिवेश देखाइएको छ। सुनौलो तथा मधुरो प्रकाशको प्रयोगले पोस्टरलाई भावनात्मक र रहस्यमय बनाएको छ। लेखक तथा निर्देशक राजबहादुर सानेका अनुसार फिल्मको छायांकन भदौको दोस्रो सातादेखि सुरू गरिनेछ।
आहा फिल्म्सको प्रस्तुतिमा बन्न लागेको फिल्मको निर्माता कमलप्रसाद शर्मा हुन्। वर्षालाई अनुबन्धित गरेसँगै निर्माण टिमले कास्टिङ कलको घोषणा पनि गरेको छ।
एक पोस्टरमार्फत टिमले मुख्य पात्रका लागि ४ महिला र ४ पुरूष कलाकारको आवेदन आह्वान गरेको हो।
