प्रत्येक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको 'आर'सालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेंटीमा आगामी शुक्रबार सु-प्रसिद्ध गीतकार शिवशंकर थापाका गीति रचनाहरू प्रस्तुत हुने भएका छन्।
पलेंटी कार्यक्रम विगत २१ वर्षदेखि सञ्चालन हुँदै आएको लघु सांगीतिक कार्यक्रम हो।
झापाको विर्तामोडमा लामो समयदेखि साहित्य साधनामा सक्रिय गीतकार शिवशंकर थापा नेपाली संगीत क्षेत्रमा स्थापित नाम हुन्।
उनका अधिकांश गीति रचनामा गायक तथा संगीतकार दीप श्रेष्ठले धुन भरेर गाएका छन्। श्रेष्ठले धुन भरेका गीतहरू 'भन्थी मेरी उनी', 'विधुवाले सिन्दूरको रहर', 'म त आकाशको जून हुँ', 'मेरो आँखामा हरदम' लामो समयदेखि उत्तिकै लोकप्रिय रहँदै आएका छन्।
उल्लेखित गीतका साथै गीतकार थापाले रचेका गीतहरू 'हावासँगै बगुँ भन्छ', 'मेरो रहर ब्यूँझिएर', 'केही ल्याउन सकिनँ' जस्ता गीतहरू पनि उत्तिकै लोकप्रिय छन्। यी गीतहरूमा संगीतकार सुवर्ण लिम्बू र प्रकाश गुरूङले धुन भरेका हुन्।
गीतकार थापाका अनुज पुस्ताका संगीतकार आभासले पनि उनका शब्दमा हालै सहकार्य गरेका छन्। 'म त अक्षरको मान्छे हुँ, शिरदेखि पढ या पाउदेखि पढ' बोलको गीतलाई पलेंटीका कण्ठ-शिल्पीले पहिलोपटक मञ्चमा प्रस्तुत गर्नेछन्। साथै संगीतकारहरू बलराम समाल, युवराज पोर्तेल, मणी बर्देवाले धुन भरेका रचनाहरू पनि कार्यक्रममा प्रस्तुत गरिनेछन्।
यसपालीको पलेंटीमा कण्ठ-शिल्पी अभिज्ञा घिमिरे र रूपक चौधरीले शिवशंकर थापाका सम्पूर्ण रचनाहरूलाई आफ्ना कण्ठले गुञ्जायमान बनाउनेछन्।
पलेंटीका लागि काठमाडौं आइपुगेका गीतकार थापाले कार्यक्रममा सहभागी हुन लामो समयदेखि अनुरोध हुँदै आएको भए पनि स्वास्थ्य अवस्थाका कारण ढिलाइ भएको बताए।
'जीवनको उत्तरार्धमा यस कार्यक्रमसँग जोडिन पाउँदा खुशी लागेको छ। पलेंटीले श्रष्टाहरूलाई मञ्चमा उतारेर उच्चतम सम्मान गर्दै आएको छ। यो लहरमा मिसिन पाएँ, आभारी छु,' उनले भने।
यसपालीको कार्यक्रमबारे पलेंटीका संयोजक आभासको भन्छन् – 'सानै उमेरदेखि म शिवदाइका शब्दको फ्यान हुँ। उहाँसँग तीन दशक पहिले नै सांगीतिक संगत गरेको अनुभव समेत छ मसँग। त्यसलाई पलेंटीमार्फत् ताजा गराउन पाएकोमा औधी खुसी लागेको छ।'
पलेंटी कार्यक्रम यही मे महिनाको अन्तिम शुक्रबार २९ तारिखका दिन आयोजना हुनेछ।
कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा हुने कार्यक्रमको टिकेट अनलाइनबाट नै प्राप्त गर्न सकिने जनाइएको छ।
'आर'शालामा उपस्थित हुन असमर्थ संगीतप्रेमीका निम्ति अनलाइनबाटै प्रत्यक्ष हेर्न 'पे पर भ्यु'को व्यवस्था पनि गरिएको छ।