निर्देशक नवीन सुब्बाले फिल्म 'मितज्यू'ले समाजका विभिन्न तह र पक्षलाई उजागर गरेको बताएका छन्। उनका अनुसार फिल्मले राजनीतिक, सामाजिक, आर्थिक तथा पारिवारिक आयामलाई एकसाथ प्रस्तुत गरेको छ।
फिल्मले गरेको राजनीतिक संकेत अहिलेको नेपाली राजनीतिक परिवेशसँग मेल खाने उनले बताए।
'पुराना पार्टीहरूको अन्त्य र नयाँ सोचको उदयलाई सिनेमाले लाक्षणिक रूपमा प्रस्तुत गरेको छ,' फिल्म हेरेपछि उनले भने, 'चरित्र निर्माणकै क्रममा यो विषय लिएर आएको छ।'
नेपाली फिल्मले यस प्रकारको राजनीतिक अभिव्यक्ति पहिलोपटक प्रस्तुत गरेको आफूलाई महसुस भएको पनि उनले बताए। राजनीतिक घटनाक्रमलाई कथामा रूपान्तरण गरी चरित्रमार्फत प्रतीकात्मक ढंगले प्रभावकारी रूपमा प्रस्तुत गरिएको उनको भनाइ छ।
निर्देशक सुब्बाले नयाँ कलाकार भए पनि तेरिया मगरले राम्रो अभिनय गरेको बताए। उनले तेरियाको अभिनय डेब्यु फिल्मजस्तो नलाग्ने उल्लेख गर्दै दयाहाङ राई र सौगात मल्ल सँगको सहकार्यमा उनले परिपक्व अभिनय प्रस्तुत गरेको बताए। यसलाई उनले फिल्मको अर्को उपलब्धिका रूपमा व्याख्या गरे।
दयाहाङ र सौगातले पनि पात्रको आवरण र भावनात्मक पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको उनको भनाइ छ।
'यो फिल्मले धेरै प्रश्न उठाएको छ। हाम्रो समाजमा रहेको पारिवारिक अवधारणालाई नै चुनौती दिएको छ,' उनले भने, 'स्थानीय कथावस्तु उठाएर फिल्मले धेरै विषय बोलेको छ। भर्खर खुलेको सडक र जीप संस्कृतिको प्रसंगमार्फत यसले रोल्पा र रुकुमभन्दा बाहिर समग्र नेपाली समाजको सोच्ने तरिकामाथि प्रश्न गरेको छ। यो मलाई राम्रो लाग्यो।'
यस्ता फिल्म निर्माण हुनुपर्ने र दर्शकले माया गर्नुपर्नेमा उनले जोड दिए। यस्ता फिल्मलाई दर्शकको साथ मिलेमा समाज निर्माणमा योगदान दिने थप सिर्जनात्मक फिल्म बन्ने उनको विश्वास छ।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'मितज्यू'मा दयाहाङ राई, सौगात मल्ल र तेरिया मगर मुख्य भूमिकामा छन्। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्तीमगर हुन् भने निर्देशन अनिल बुढा मगरले गरेका छन्।