शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'रोल नं १' का कलाकारले सिनेमाले बालमनोविज्ञान, अभिभावकको दबाब र विद्यार्थीको स्वतन्त्र रूचिको विषय उठान गरेको बताएका छन्।
‘हरेक विद्यार्थीको कथा’ स्लोगन रहेको फिल्मले कक्षामा पहिलो हुनेलाई मात्रै सफल मान्ने सामाजिक सोचविरुद्ध आवाज उठाउने उनीहरूको भनाइ छ।
अभिनेता मुकुन भुसालले अभिभावकले आफ्ना अधुरा सपना सन्तानमार्फत पूरा गराउन खोज्ने प्रवृत्ति नेपाली समाजमा गहिरो रहेको बताए। उनका अनुसार फिल्मले पढाइको महत्व नकार्ने होइन, बरू ‘के पढ्ने, कसरी पढ्ने र बच्चाको रूचिअनुसार कसरी अगाडि बढाउने’ भन्ने प्रश्न उठाएको छ।
उनले आफू पनि दबाबपूर्ण शैक्षिक वातावरणबाट हुर्किएको अनुभव सुनाउँदै रूचिको विषय पढ्दा कम मेहनतमै धेरै उपलब्धि हासिल गर्न सकिने बताए। 'बच्चाको इच्छा र क्षमता पहिचान गरेर त्यही दिशामा अघि बढाउन सके उनीहरू सफल हुन्छन्,' उनले भने।
अभिनेता सुशांक मैनालीले फिल्म बाबु-छोराबीचको अन्तरद्वन्द्वमा केन्द्रित रहेको बताए। अभिभावकको चाहना र बच्चाको इच्छाबीच हुने संघर्षले बालबालिकाको जीवनमा पार्ने असर फिल्ममा देखाइएको उनको भनाइ छ।
अभिनेत्री रेणु योगीले पनि बालमनोविज्ञानलाई केन्द्रमा राखेर फिल्म निर्माण गरिएको बताइन्। उनका अनुसार अभिभावकको सकारात्मक सोच भए पनि अत्यधिक दबाबले बालबालिकामा नकारात्मक असर पार्न सक्छ।
जोन योञ्जनको निर्देशन रहेको 'रोल नं १' मा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारीलगायतको अभिनय छ। बाल कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन्। फिल्मका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन्। सह–-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्।
'रोल नं १' लाई महेश दवाडीले लेखेका हुन् भने शिवराम श्रेष्ठको डीओपी छ।
हलले थाले अग्रिम टिकट बिक्री
यसैबीच, फिल्मको अग्रिम बुकिङ पनि खुला भएको छ।
क्यूएफएक्सलगायतका मल्टिप्लेक्सले देशभर प्रदर्शन तालिका सार्वजनिक गरेका छन्। निर्माण टिमका अनुसार फिल्मले देशभर करिब १ सय ५० शो पाएको छ। निर्माण टिमले देशभरका विद्यालयमा पुगेर विद्यार्थीसँग अन्तरक्रिया गर्दै फिल्मको प्रचारसमेत गरेको जनाएको छ।
प्रदर्शनपछि कलाकारहरू दर्शक भेट्न विभिन्न हलमा पुग्ने तयारीमा छन्।

