डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म 'गौंथली'को टिजर सार्वजनिक भएको छ।
बिहीबार सार्वजनिक टिजरले फिल्मका मुख्य पात्र र कथावस्तुबारे संक्षिप्तमा जानकारी दिन्छ।
टिजरअनुसार फिल्मले गाउँघरको सामाजिक यथार्थ, महिलाको संघर्ष र सपनाको कथा भन्नेछ। टिजरमा ग्रामीण परिवेशका दृश्यहरूलाई केन्द्रमा राख्दै एक युवतीको जीवन संघर्ष देखाइएको छ। घरको जिम्मेवारी, परम्परागत सोच र पढाइप्रतिको चाहनाबीचको द्वन्द्व टिजरमा मुख्य रूपमा झल्किएको छ।
टिजरमा अभिनेत्री सिम्रन खड्कालाई गाउँकी सामान्य युवतीको भूमिकामा प्रस्तुत गरिएको देखिन्छ, जसले विवाहपछिको जिम्मेवारीसँगै आफ्नो शिक्षा र भविष्यका सपना जोगाइराख्न संघर्ष गरिरहेकी छिन्। अभिनेता अरूण क्षेत्री उनको श्रीमानको भूमिकामा छन्, जो अटिजम भएको पात्रको भूमिकामा रहेको टिजरमा देखिन्छ। उनको असामान्य व्यवहारबाट सिम्रनको पात्र आजित भएको टिजरमा देखाइएको छ।
फिल्ममा सीतादेवी तिमिल्सिना सिम्रनको पात्रको आमाको भूमिकामा देखिएकी छन्।
समग्रमा 'गौंथली'को टिजरले सपना र जिम्मेवारीबीच संघर्ष गरिरहेकी एक ग्रामीण महिलाको कथा भन्ने संकेत दिन्छ।
फिल्म 'गौंथली' मा सिम्रन, अरूण र सीतादेवीसहित मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, संजोग रसाइली, लक्ष्मीनाथ तिमल्सेना, राजेन्द्र नेपाली, बाल कलाकारहरू अंशु ओली र राजकुमार नेपाली लगायतको अभिनय छ।
डा. भोला रिजालको कथा रहेको 'गौंथली' को पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका हुन्। फिल्ममा ‘गौंथली’को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यता रहेको निर्माण पक्षले जनाएको छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मको कार्यकारी निर्माता सरला रिजाल छिन्। निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताको रूपमा रहेका छन्। शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको फिल्ममा पाश्र्व संगीत एलिस कार्कीको छ।
फिल्मलाई हरि हुमागाईंले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन्। गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्ममा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी छ।
यो फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ.डी. कम्पनीले वितरण गर्नेछन्। डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।
'गौंथली' नाममा डा. भोला रिजालले दुई दशकअघि फिल्म निर्माण गरेका थिए। उक्त फिल्मलाई नेपालको पहिलो 'गीति फिल्म' (म्युजिकल फिल्म) मानिन्छ।
अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ फिल्म निर्देशन गरेका हुन्।
'गौंथली' साउन १ गतेदेखि प्रदर्शनमा आउने तालिका तय छ।