आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा 'छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३' जेठ १७ गते (आइतबार) देखि काठमाडौंमा सुरू हुने भएको छ।
चाबहिलस्थित चलचित्र विकास बोर्ड मा जेठ १७, १८ र १९ गतेसम्म महोत्सव आयोजना गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
महासंघ अनुसार नेपालजस्तो बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषता बोकेको मुलुकमा आदिवासी जनजाति समुदायको इतिहास, भाषा, लिपि, संस्कृति, सामुदायिक स्मृति र मौलिक कथनलाई उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।
महोत्सवका निर्देशक सागर केरूङले यस वर्षको महोत्सव केवल चलचित्र प्रदर्शनको औपचारिक कार्यक्रम मात्र नभई सांस्कृतिक न्याय, आत्म-प्रतिनिधित्व, भाषिक पुनर्जागरण र औपनिवेशिकता विरूद्धको प्रतिरोध एवं सिनेमाटिक आन्दोलनको रूपमा प्रस्तुत हुने बताए।
महोत्सवमा लिम्बू, नेवारी, गुरूङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र र वृत्तचित्रहरू प्रदर्शन गरिने बताइएको छ।
कथानक चलचित्रतर्फ नेवारी चलचित्र 'स्वयंगु' (निर्देशक दिनेश लिङ्देन), गुरूङ चलचित्र 'डल्स्यो रामरानी' (निर्देशक जनक गुरूङ), तामाङ चलचित्र 'ह्याङ तामाङ' (निर्देशक निमा लामा) तथा मगर चलचित्र 'दिलसरा' (निर्देशक अशोक आले) प्रदर्शन गरिनेछ।
लघु चलचित्रतर्फ 'तहरसिङ' (निर्देशक सागर केरूङ), 'दुख्ला ग्याम' (निर्देशक हुतबहादुर तामाङ), 'निको पहिचान' (निर्देशक बिपना तामाङ) र 'लाहुरेनी' (निर्देशक विशाल रोक्का मगर) प्रदर्शन गरिने आयोजकले जनाएको छ।
यसैगरी, वृत्तचित्र तथा एआई जेनेरेटेड विधामा समेत विशेष प्रस्तुति रहने महासंघले जनाएको छ।
महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलगायत विभिन्न विधामा प्रोत्साहन पुरस्कार र जुरी अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।
महासंघका कार्यवाहक अध्यक्ष भुइसल लामाले आदिवासी चलचित्रलाई केवल मनोरञ्जनका रूपमा नभई सामाजिक, सांस्कृतिक र राजनीतिक दस्ताबेजका रूपमा आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गरे।