बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका विभिन्न संस्करणमा उत्कृष्ट ठहरिएका छ वटा चिनियाँ चलचित्रहरू काठमाडौंमा प्रदर्शन हुने भएका छन्।
बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवद्र्धन कार्यक्रम 'टियानतान अवार्ड प्यानोरामा' अन्तर्गत आगामी जुन २ देखि ४ तारिखसम्म यी चलचित्रहरू प्रदर्शन गरिने भएका हुन्।
चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सहकार्यमा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले यो कार्यक्रम आयोजना गर्न लागेको हो। यसका लागि काठमाडौंस्थित चिनियाँ सांस्कृतिक केन्द्र, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गतका कन्फ्युसियस इन्स्टिच्युटहरूको पनि सहयोग रहेको छ।
ठमेलस्थित छायाँ सेन्टरमा सबै चलचित्रहरू सशुल्क रूपमा प्रदर्शन गरिने व्यवस्थापक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ।
चिनियाँ र नेपाली चलचित्रकर्मीबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए।
अध्यक्ष पाठकले भने, 'चिनियाँहरू नेपाली बजारमा आकर्षित भइरहेको पाइन्छ। जसका कारण नेपाली चलाचित्रकर्मीहरूलाई चीन भ्रमण गराउने तथा चीनमा नेपाली चलचित्रको महोत्सव गराउने कार्यमा चिनियाँ सहयोग बढ्न थालेको छ। हामीले पनि चिनियाँ चलचित्रहरूलाई नेपाली दर्शकमाझ प्रदर्शनमा सहकार्य गरेर दुई देशका चलचित्रकर्मीबीच सम्बन्ध विस्तार होस् भन्ने पक्षमा केन्द्रित छौं।'
उनले चिनियाँ चलचित्र बजार नेपाली फिल्मका लागि पनि अवसर बन्न सक्ने उल्लेख गर्दै यस्ता सहकार्य भविष्यमा अझ विस्तार हुने विश्वास व्यक्त गरे।
जुन २ (जेष्ठ १९) को प्रदर्शन तालिका
कार्यक्रमको पहिलो दिन तीन चलचित्र प्रदर्शन हुनेछन्। बिहान ११ः३० बजेबाट सुरू हुने सत्रमा पहिलो फिल्म 'ट्रयाप' प्रदर्शन गरिनेछ। सन् १९९५ मा चीनमा बन्दुक प्रतिबन्ध हुनुअघि जेलबाट भागेको एक व्यक्तिले सहरमा मच्चाएको आतंकको कथामा आधारित यस क्राइम थ्रिलरले बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट पटकथा र सह-अभिनेताको अवार्ड जितेको थियो। प्रदर्शनपछि निर्देशक सागर झाङसँग दर्शक प्रश्नोत्तर सत्र समेत हुने जनाइएको छ।
दिउँसो ३ बजे झिहाई लिउ निर्देशित युद्ध-आधारित फिल्म ‘बियोन्ड द स्काइज’ प्रदर्शन हुनेछ। साँझ ५ बजे वु शुआङ निर्देशित 'समर डायरी' प्रदर्शन गरिनेछ, जसमा आमाको खोजीमा निस्किएको एक पात्रको भावनात्मक यात्रा प्रस्तुत गरिएको छ।
अन्य चलचित्र (जेष्ठ २०–२१)
रूई कुई र सियाङ लिउ निर्देशित फिल्म 'लस्ट इन द स्टार' प्रदर्शन हुने तालिका छ। यो फिल्म गर्भवती महिला हराएको रहस्यमी घटनामा आधारित छ। 'द स्याडोलेस टावर' झाङ लु निर्देशित यस फिल्म प्रेम कथामा आधारीत छ।
दाशाङ कोङ निर्देशित साइन्स फिक्सन फिल्म 'जर्नी टु द वेस्ट' प्रदर्शन हुनेछ। एलियनको खोजीको कथामा बनेको यो फिल्म ब्यंगात्मक वृत्तचित्र शैलीमा बनेको छ।