अस्कर इन्टरनेसनल कलेज अफ फिल्म स्टडिज र चलचित्र विकास बोर्डको सहकार्यमा एक महिने कथा लेखन कार्यशाला सञ्चालन गरिएको छ।
नयाँ पुस्तालाई कथा लेखनतर्फ प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यशाला वैशाख ३० गतेदेखि सुरू भएको हो।
लेखक तथा समीक्षक सुरज सुबेदीको मेन्टरसिपमा सञ्चालन भइरहेको कार्यशालामा १० जना सहभागी छन्। कार्यशाला संयोजक जेम्स ढकालका अनुसार ४० जनाबाट प्राप्त आवेदनमध्येबाट १० जना सहभागी छनोट गरिएको हो।
कार्यशालाको समापनमा प्रत्येक सहभागीले कथाको पहिलो ड्राफ्ट तयार गर्नेछन्, जसलाई पछि परिष्कृत गरी अन्तिम रूप दिइने आयोजकले जनाएको छ।
साहित्य, सिनेमा र रङमन्चमा राम्रा कथा र युवा लेखकहरुको अभाव कम गर्न यो कार्यशाला उपयोगी हुने अपेक्षा गरिएको मेन्टर सुबेदीले बताए।