अभिनेता तथा निर्माता जितु नेपाल अभिनीत फिल्म 'आई एम जितबहादुर' को ट्रेलर सार्वजनिक गरिएको छ।
भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको कथा तथा निर्देशनमा बनेको फिल्मको ट्रेलर ओएसआर डिजिटल युट्युबमार्फत सार्वजनिक गरिएको हो।
आगामी असार ५ गते प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरले गाउँबाट कलाकार बन्ने सपना बोकेर सहर आएका एक युवाको संघर्ष, सपना, प्रेम, असफलता र आत्मविश्वासको कथा प्रस्तुत गर्छ। फिल्ममा जितु नेपाल फरक र भावनात्मक भूमिकामा देखिएका छन्। ट्रेलरमा उनको पात्र गाउँको साधारण युवकबाट कलाकार बन्ने यात्रामा अनेक चुनौतीसँग जुधिरहेको देख्न सकिन्छ।
ट्रेलरले नेपाली समाजमा कलाकार बन्न संघर्ष गरिरहेका युवाको यथार्थलाई उजागर गर्ने संकेत दिन्छ। अभिनयप्रतिको मोह, अवसरको खोजी, सम्बन्धमा आउने उतारचढाव र सपनाप्रतिको अडानलाई ट्रेलरले मुख्य रूपमा उठाएको देखिन्छ। केही दृश्यले फिल्ममा हास्यसँगै गहिरो भावनात्मक पक्ष पनि रहेको संकेत गर्छ।
फिल्ममा जितु नेपालसहित वर्षा राउत, प्रियंका कार्की, सन्दिप क्षेत्री, देशभक्त खनाल, सारा शर्मा, अंशु महर्जन, पवन खतिवडा, राजन सिम्खडालगायत कलाकारहरूको अभिनय छ।
कर्मभूमि क्रिएसनको ब्यानरमा निर्माण गरिएको फिल्मको निर्मातामा जितु नेपाल छन् भने सह-निर्माता राजन सिम्खडा र दिपेन्द्र अधिकारी हुन्। कार्यकारी निर्मातामा निश्चल कुँवर र निरज नेपाल रहेका छन्।
भारतीय सिनेमाटोग्राफर अरविन्दले फिल्मको छायांकन गरेका हुन्।
भिडिओः