छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव-२०८३ आइतबारदेखि काठमाडौंमा सुरू भएको छ। आदिवासी जनजाति चलचित्र महासंघको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा बोर्डको सभाहलमा महोत्सव सुरू भएको हो।
'आदिवासी जनजाति चलचित्रको प्रवद्र्धन, मौलिक भाषा संस्कृतिको संरक्षण' भन्ने मूल नाराका साथ सुरू भएको महोत्सव मंगलबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
महोत्सवको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष तथा प्रमुख अतिथि दिनेशराज दाहालले मैनबत्ती बालेर गरेका थिए। उद्घाटन समारोहमा विभिन्न आदिवासी जनजाति समुदायका सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो।
आयोजकका अनुसार महोत्सव चलचित्र प्रदर्शनमा मात्र सीमित छैन। यसलाई आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, इतिहास, लिपि, मिथक, सामुदायिक स्मृति, भू–चेतना, लोकज्ञान तथा सांस्कृतिक अस्तित्वलाई दृश्य–श्रव्य माध्यममार्फत पुनःस्थापित गर्ने अभियानका रूपमा लिइएको छ।
महोत्सवको पहिलो दिन लघु चलचित्रतर्फ सागर केरूङ निर्देशित ‘तङसिङ’, निमा लामा तामाङ निर्देशित ‘ह्याङ तामाङ’ र बिपना तामाङ भुजेल निर्देशित ‘निको पहिचान’ प्रदर्शन गरिएको छ।
महोत्सवमा नेवारी, गुरूङ, मगर, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआई जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछ।
कथानक चलचित्रतर्फ दिनेश लिङदेन निर्देशित ‘रीत’, अमृतमान महर्जन निर्देशित ‘स्वयनगु’, जनक गुरूङ निर्देशित ‘ङोल्स्यो रामरानी’ र अशोक आले मगर निर्देशित ‘दिलसरा’ प्रदर्शन हुनेछन्।
यस्तै लघु चलचित्रतर्फ हुतबहादुर तामाङ निर्देशित ‘दुखला ग्यम’, परशुराम चौधरी निर्देशित ‘जाइछै सौसरा’ र विशाल रोक्का मगर निर्देशित ‘लाहुरेनी’ समावेश छन्।
वृत्तचित्रतर्फ अनिल मगर निर्देशित ‘आग्रे’, होमकुमारी माझी निर्देशित ‘लदि पूजा’ तथा अरविन्द विश्वास निर्देशित एआई जेनेरेटेड वृत्तचित्र ‘बिराटनगरके प्राचीन राजवंशी’ प्रदर्शन गरिनेछ।
महोत्सवमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र र कथानक चलचित्रतर्फ उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट स्क्रिप्ट, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकन, प्रोत्साहन पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।