चलचित्र विकास बोर्डले 'लालीबजार' सहित ६ नेपाली फिल्महरूको पछिल्लो आधिकारिक बक्सअफिस विवरण सार्वजनिक गरेको छ।
बोर्डले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फिल्म 'लालीबजार' को कमाइ ८ करोड नजिक पुगेको छ।
वैशाख २५ गते रिलिज फिल्मले गत शनिबार (जेठ १६ गते) सम्म सिनेपाः बक्सअफिसमा ७ करोड ९० लाख ३१ हजार ४६७ रूपैयाँ ग्रस कमाइ गरेको हो। उक्त कमाइ हुँदा फिल्मको २ लाख ६९ हजार २०२ वटा टिकट बिक्री भएको छ।
त्यस्तै, 'परालको आगो' ले ४ करोड २७ लाख ८४ हजार ४४५ रूपैयाँ ग्रस कमाएको छ। वैशाख ११ गते रिलिज यो फिल्मको १ लाख ५४ हजार ३४ वटा टिकट बिक्री भएका छन्।
जेठ ८ गते रिलिज 'मितज्यू' ले १ करोड २० लाख ५९ हजार ०८२ रूपैयाँ कमाएको छ। यसको ४१ हजार २४८ वटा टिकट बिक्री भएको उल्लेख छ। त्यस्तै, जेठ ८ मै रिलिज फिल्म 'काजी' ले ४० लाख ८८ हजार १७५ रूपैयाँ ग्रस कमाएको छ। यसको १३ हजार ७ वटा टिकट बिक्री भएको छ।
वैशाख २५ गते रिलिज 'मालती मंगले' ले ५१ लाख ७३ हजार ७९३ रूपैयाँ कमाएको छ। यसको १६ हजार १८८ वटा टिकट बिक्री भएको बोर्डले जनाएको छ।
यस्तै, जेठ १ मा रिलिज 'लाइफ ड्यामेज' ले ३३ लाख २६ हजार ३२० रूपैयाँ ग्रस कमाएको छ। यो फिल्मको १० हजार ८५५ वटा टिकट बिक्री भएका छन्।
'गुरूआमा', 'एक मुठ्ठी बादल' लगायतका फिल्म भने हलबाट उत्रिसकेका छन्।
चलचित्र विकास बोर्डले हरेक सोमबार बक्स अफिस विवरण सार्वजनिक गर्दै आएको छ।
गत शुक्रबार रिलिज 'रोल नं. १' र 'कुम्भ'को बक्सअफिस रिपोर्ट भने आगामी सोमबार सार्वजनिक हुनेछ।
