चलचित्र विकास बोर्डको २६ औं वार्षिकोत्सव विविध कार्यक्रम, सम्मान तथा नयाँ पहलहरूको घोषणा गर्दै मंगलबार काठमाडौंमा सम्पन्न भएको छ।
बोर्डको प्रेक्षालयमा आयोजित समारोहमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र उद्योगका समस्या र अपेक्षाप्रति सरकार संवेदनशील रहेको बताउँदै चलचित्र क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको धारणा राखे।
समारोहमा नेपाली चलचित्र क्षेत्रलाई डिजिटल प्रविधिसँग जोड्ने उद्देश्यले तयार गरिएको 'सिनेपा' एप (फुल भर्सन) सार्वजनिक गरिएको छ। साथै, बोर्डले आफ्नो वार्षिक गतिविधि समेटिएको 'शब्दचित्रमा चलचित्र बोर्डको गतिविधि' र 'सिनेपा' पुस्तकको पनि विमोचन गरेको छ।
वार्षिकोत्सवका अवसरमा बोर्डका दुई कर्मचारीलाई सम्मान गरिएको छ भने स्टोरी बोर्डबाट छनोट भएको चलचित्र 'सुरिलो रूख'लाई निर्माण सहायतास्वरूप ४ लाख रूपैयाँ प्रदान गरिएको छ। बोर्डले स्थापना यता ७ करोड रूपैयाँभन्दा बढी व्यापार गरेका ३१ नेपाली चलचित्रको सूचीसमेत सार्वजनिक गरेको छ।
कार्यक्रममा राष्ट्रिय चलचित्र पुरस्कार निर्णायक समितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै, सगरमाथा आरोहण गरेका चलचित्रकर्मीहरू निशा अधिकारी, अर्जुन कार्की, कविता नेपाली, रोजिता बुद्धाचार्य र निलम पौडेललाई विशेष सम्मान प्रदान गरिएको थियो। लघु चलचित्र तथा वृत्तचित्र प्रतियोगिताका विजेतालाई पनि पुरस्कार वितरण गरिएको छ।
यसैबीच, विशिष्ट, विशेष र चलचित्रकर्मी श्रेणीका परिचयपत्रहरू विभिन्न कलाकार, निर्देशक, लेखक र प्राविधिकलाई प्रदान गरिएको थियो।
समारोहमा बोल्दै बोर्ड अध्यक्ष दिनेश डी.सी.ले डिजिटल रूपान्तरण, चलचित्रकर्मीको सम्मान, नेपाली चलचित्रको अभिलेखीकरण तथा सिर्जनात्मक परियोजनाको प्रवद्र्धनलाई आगामी प्राथमिकताका रूपमा अघि बढाइने बताए।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना प्रमुख अतिथि रहेको कार्यक्रममा मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत विशिष्ट अतिथिका रूपमा सहभागी थिइन्।
कार्यक्रमको अध्यक्षता बोर्डका अध्यक्ष दिनेश डीसीले गरेका थिए भने बोर्डका सदस्य सचिव राजेश कुमार थापाले स्वागत मन्तव्य राखेका थिए।



