देशभरका धेरैजसो सिनेमा हल यतिबेला नेपाली फिल्मविहीन बनेका छन्।
नयाँ नेपाली फिल्म रिलिज नहुनु र यसअघि रिलिज फिल्म हलबाट उत्रिँदा हलहरू विदेशी फिल्मको भरमा सञ्चालन भइरहेका हुन्।
देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सका काठमाडौंस्थित कुनै पनि हलमा हाल एउटा पनि नेपाली फिल्म प्रदर्शनमा छैन।
क्युएफएक्स काठमाडौंमा 'मिनियन्स एन्ड मन्स्टर्स', 'वेलकम टु द जंगल', 'सुपरगर्ल', 'ककटेल २', 'कोलोनी', 'टोय स्टोरी ५', 'अब्सेसन' लगायत विदेशी फिल्म प्रदर्शनमा छन्। शुक्रबारदेखि 'अल्फा' र 'बेबी डु डाइ डु' गरी थप दुई विदेशी फिल्म प्रदर्शनमा आउँदैछन्।
काठमाडौंका अन्य मल्टिप्लेक्स बिग मुभिज, वान सिनेमाजमा पनि कुनै नेपाली फिल्म प्रदर्शनमा छैन।
देशको ठूलो मल्टिप्लेक्स चेन आइएनआईमा भने एउटा मात्रै नेपाली फिल्म 'आई एम जितबहादुर' प्रदर्शनरत छ। यद्यपि, यसको शो अत्यन्तै सीमितमा झरेको छ।
असार-साउनमा सिनेमा हल नेपाली फिल्मविहीन हुनु नौलो भने होइन्।
फिल्म वृत्तमा असार र साउनलाई धेरैले 'अफसिजन' समेत मान्छन्। मनसुनका कारण दर्शकहरूको हलसम्मको आवागमन प्रभावित हुने र व्यापार पनि अपेक्षाकृत नहुने भन्दै यस अवधिमा फिल्म रिलिज गर्न निर्माता/निर्देशकहरू खास्सै इच्छुक देखिँदैनन्।
विगतका वर्षहरूमा पनि असार-साउनमा नेपाली फिल्मको प्रदर्शन न्यून रहने गरेको थियो। यद्यपि, एकाध फिल्म प्रदर्शनमा नआउने भने होइनन्।
यसवर्ष असार ५ गते 'आइएम जितबहादुर' रिलिज भएको थियो। यो फिल्म बक्स अफिसमा कमजोर देखियो। असार १४ गते आइतबारसम्म फिल्मले बक्स अफिसमा ३१ लाख रूपैयाँ मात्रै ग्रस कमाइ गरेको थियो। असार १२ मा 'जाँड' रिलिज भए पनि ठूला मल्टिप्लेक्समा यसले प्रदर्शनको अवसर पाएको थिएन।
वैशाख २५ गते रिलिज 'लालीबजार' लामो समय हलमा प्रदर्शनमा रह्यो। ९ करोड ३१ लाख रूपैयाँ ग्रस कमाउँदै फिल्मले गत शनिबारमात्रै ५१ औं दिन मनाएको थियो। अहिले भने यो फिल्म केही सीमित हलमा मात्रै प्रदर्शनरत छ। त्यस्तै, जेठ १५ मा रिलिज 'रोल नं. १' पनि अहिले सीमित शोमा खुम्चिएको छ।

अब असार २६ मा फिल्म 'भागदौड' प्रदर्शनमा आउँदैछ। यद्यपि मल्टिप्लेक्समा यो फिल्म 'कमिङ सुन' मा देखिँदैन। साउन १ मा फिल्म 'गौँथली' प्रदर्शनमा आउने तयारी छ। त्यतिञ्जेलसम्म धेरैजसो सिनेमा हल नेपाली फिल्मविहीन हुने देखिन्छ।
भदौंमा भने थुप्रै नेपाली फिल्मले प्रदर्शन तोकेका छन्।